द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १७ ।

कोरोना संक्रमण बढेसंगै नेपालको विभिन्न स्थानमा आइसोलेसनको अभाव देखियो । प्रदेश दुईमा यो समस्या झनै बिकराल रुपमा रहेको छ । आइसोलेसन अभावकै कारण कति कोरोना संक्रमितहरुलाई क्वारेण्टाइनमै राखिएको छ । आइसोलेसनको अभाव छँदै थियो त्यसमाथी त्यहाँ रहेको बिरामीहरुलाई दिइने खानामाथी समेत विभिन्न टिका टिप्पणीहरु भई रहेका थिए ।

यही बिचमा विरगंज र जनकपुरधाममा संचारकर्मीहरु संक्रमित भए । संचारकर्मीहरु आइसोलेसनमा पुग्दा त्यहाँ रहेको समस्या बारे उजागर गर्न थालेपछि मात्र आइसोलेसनको व्यवस्थापनमाथी प्रश्न उठ्न थाल्यो । आइसोलेसनमा संक्रमितहरुलाई खाना त परै जाओस पानीसम्म समयमा दिइदैन थियो ।

बाहिर बिरामीहरु कोरोनाले होइन भोकले मर्ने खालका टिप्पणीहरु हुन थालेपछि एक गैर सरकारी संस्थाले आइसोलेसनमा रहेका बिरामीहरुका लागि भोजन उपलब्ध गराउने जिम्मा लियो । सोही संस्था सानो पाइलाले अहिले जनकपुरधामकोे आइसोलेसनमा रहेको बिरामीहरुका लागि भोजन उपलब्ध गराउँदै आई रहेको छ ।

वीरगंजमा समेत यही संस्थाले आइसोलेसनमा रहेका बिरामीहरुका लागि भोजन जेठ ५ गते देखि उपलब्ध गराउँदै आई रहेको थियो । पछी प्रदेश सरकारले जनकपुरधाममा समेत सहयोग गर्न आग्रह गरेपछि सानोपाइलाले जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनमा समेत बिरामीहरुका लागि गत जेठ १४ गते भोजनको व्यवस्थापन गर्दै आई रहेको छ ।
आन्तरिक मामिला तथा कानून मंत्रालयका सचिव कृष्ण हरि पुष्कर र मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले खाना ब्यावस्थापन गर्न आग्रह गरे पछि हामीले जेठको १४ गते देखी नै खाना पठाउन थालेको सानो पाइलाका क्षेत्रीय संयोजक तथा कानून अधिकृत राहुल झाले जानकारी दिए ।

भोजन व्यवस्थापन अन्तर्गत खाना बनाउने ५ जना, पैकिंग गर्न ८ जना र बजार व्यवस्थापनमा ४ जना तथा आइसोलेसन भित्रै खाना पुर्याउन रिक्शा चालक सहित ४ जनालाई जिम्मा दिइएको छ ।
सानो पाइलाको जनकपुरधाम, रामानन्द चोक स्थित सुधार केन्द्रमा खाना बनाउने देखी सबै व्यवस्थापन गर्ने गरेको संयोजन झाले भने , ’यति बेला हामी विहानै ८ बजे खाजामा रोटी, तरकारी, अंडा, एक ग्लास दूध र फल फूल दिने गरेका छौ ।’ उनले अगाडी भने ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप तथा चिकित्सकहरुको सल्लाहको आधारमा साताको प्रत्ये दिन अलग अलग प्रकारको भोजन उपलब्ध गराउँदै आई रहेका छौँ ।’

दिनको १२ बजेको खानामा भात, दाल, तरकारी र साग साथै सलाद पनि दिने गरिएको झाले भने, ’ दिउसो पुनः ४ बजे फल फूल र सर्वत राति ८ बजे खाना तथा सोमवार र बुधवार मासु तथा शाकाहारीहरुका लागि पनीर उपलब्ध गराउँदै आई रहेका छौँ ।’

अहिले भोजनमा लाग्ने सम्पूर्ण खर्च सानो पाइलाले ब्योहरी रहेको जानकारी गराउँदै झाले सरकार संग सहमति गर्ने प्रयास गरिरहेको जानकारी दिए ।सानो पाइलाले विपदको बेला सधै अग्रस्थानमा काम गर्दै आएको झाले भने समाजमा साकारत्मक रूपान्तरणको लागि हामी सधै काम गर्ने गरेको थुप्रै उदाहरणहरु छन ।

२०६४ सालमा स्थापना भएको यस सानो पाइलाले कोभीड़ १९ संक्रमणको बेलामा अहिले पर्साको वीरगंजमा समेत जेठ ५ गते देखी नै बिभिन्न दाताको सहयोग बाट आइसोलेसनमा रहेका संक्रमितहरुको लागि खाना व्यवस्थापन गर्दै आई रहेको छ ।झाका अनुसार खाजा तथा भोजन गरी बीरगंजमा प्रति व्यक्ति ३२७ रुपैया तथा जनकपुरधाममा प्रति व्यक्ति ५०२ रुपैया खर्च भई रहेको छ ।

सानो पाइलाले बारामा टोर्नाडो आँधी आउँदा बारामा घर निर्माण गराउन लगाउनुका साथै भूकम्प गएको बेला गोरखामा राहत वितरण गर्ने कार्य समेत गरेको थियो । सानो पाइलाले कुलतमा फसेकाहरुलाई दुव्र्यसनमुक्त बनाउने, बालबालिका, शिक्षा, विपद व्यवस्थापन लगायतको क्षेत्रमा काम गर्दै आई रहेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !