द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १६ ।

कोरोना संक्रमणको त्रासका बिच बजेट ल्याउनुपर्ने चटारो रहेकोले प्रदेश सभाको बजेट अधिवेशन जेठ २१ गतेबाट शुरु हुन लागेको हो । बजेट अधिवेशन शुरु हुन लागेकोले प्रदेश दुईको प्रदेशसभा सदस्यहरुका साथै कर्मचारी तथा सुरक्षाकर्मीहरुको स्वाब संकलन शुरु गरिएको छ ।
बिहिबार उपसभामुख उपमा देवको स्वाब संकलन कार्य पछि कोरोना परिक्षण गरिने सभामुखका प्रेस संयोजक प्रभाकर सिंहले जानकारी दिए ।
जेठ २१ गते बस्ने प्रदेश सभा वैठकका लागि बिहिबार देखि प्रदेशसभा सदस्यहरुको स्वाब संकलन शुक्रबार पनि गरिएको छ ।
प्रदेशसभाको बजेट अधिवेशन शुरु हुन एक साता मात्रै बाकी रहेको समयमा पहिलो चरणमा कर्मचारी र सुरक्षाकर्मीको परिक्षणका लागि स्वाब संकलन गरि सकिएको छ भने शुक्रबार देखि प्रदेशसभा सदस्यहरुको स्वाब संकलन शुरु गरिएको छ । बिहीवारदेखि थालिएको परीक्षण शनिबारसम्म चल्ने छ ।
प्रदेशसभामा १ सय ७ प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयमा खटिएका ७२ सुरक्षाकर्मी र ६० जना कर्मचारीको स्वाब संकलन गरी कोरोना परीक्षण हुने भएको छ । अहिलेसम्म ६७ जना प्रदेशसभा सदस्य र सुरक्षाकर्मी तथा सचिवालयको कर्मचारी गरी १२४ जनाको स्वाब संकलन गरिएको छ ।
प्रदेश दुईको मन्त्रिपरिषद् बैठकबाट जेठ २० गते अधिवेशन अन्त्य गर्नका लागि २१ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्न लागेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
प्रदेशसभा हलमा सामाजिक दूरी कायम गरी ३ वटा कुर्सीको बीचमा एक कुर्सी खाली राखेर प्रदेशसभा सदस्यहरुका लागि बस्ने व्यवस्था गरिएको छ । यसको आन्तरिक व्यवस्थापन समेत भईसकेको उनले बताए ।
असार १ गते नीति तथा कार्यक्रम र त्यसपछि बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभा बैठक बस्नका लागि प्रदेशसभा हलको आन्तरिक तयारी सम्पन्न गरी स्वाब संकलनको लागि अभियान जारी नै रहेको सभामुख यादवले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !