द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १५ ।
प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकार संग माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै मुख्यमंत्री राउत कोरोना विरुद्धको लडाईका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।
उनले भारतसंगको खुला सीमाना तथा भारतमा रोजगारी गर्दै आएका नागरिकहरुको स्वदेश फिर्ताले प्रदेशमा कोरोनाको संक्रमण बढने खतरा रहेको अवस्थामा हालको व्यवस्थापन अपुग देखिएकोले थप व्यवस्थापनका लागि विशेष प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरे ।
मुख्यमन्त्री राउतले लक डाउनका कारण दैनिक जिवन यापनमा समस्या भोगी रहेका नागरिकहरुलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरेपनि लकडाउन थपिदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यीक बनौट, मानव विकास सुचकाङ्क र सामाजिक विकासको अवस्था समेतका आधारमा प्रदेश सरकारले मात्र खाद्यान्न सहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकोले संघीय सरकार बाट ठोस कार्यक्रम आउनु पर्ने बताए ।
उनले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा रियल टाइम पिसिआर संचालन गरे पनि भिटिएम किटको अभावमा अपेक्षीत परिक्षण गर्न नसकिएकोले संघ सरकारलाई यथाशीघ्र भिटिएम किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन समेत माग गरे ।
यो विषयमा टिप्पणी गर्नुहोस् !