द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १२ ।

कोरोना संक्रमणबाट मृत्यु भएको व्यक्तिको रिपोर्ट नआउँदैे शव परिवारलाई बुझाएको भन्दै वीरगन्जको नेसनल मेडिकल कलेजलाई आवश्यक कारबाहीका सिफारिस गरिएको छ ।कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन ।
यस अघि कारबाहीको विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल पनि भएको थियो । सो छलफलबाट अस्पताललाई कारबाही गर्न गृह मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निक्र्यौल लगाइएको थियो ।
गत जेठ ४ गते बाराको करैयामाई गाउँपालिका ६ का ७५ वर्षीय वृद्धको उपचारको क्रममा नेसनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उनमा कोरोना संक्रमण रहेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेपछि अहिले कारवाही प्रकृया बढाइएको छ । वृद्धको मृत्युपश्चात रिपोर्ट नआउँदै परिवारले दाहसंस्कार समेत गरिसकेको छ ।
अस्पतालले कोरोनाको शंका नलागेका कारण रिपोर्ट नआई मृतकको शव परिवारलाई बुझाएको स्वीकार गरेको छ । अस्पतालका सञ्चालक बसुरिद्दिन अन्सारीले अस्पतालबाट गल्ती भएको स्वीकार्दै प्रशासन वा सरकारले गरेको कारबाही स्वीकार्य हुने बताएका छन् ।
यस्तै बैठकले मृतकको सम्पर्कमा पुगेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ सुरु गर्ने र उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई तत्काल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ ।साथै मृतकको उपचार भएको अस्पतालको आइसियू कक्ष पनि सिल गर्ने तयारी गरिएको छ ।
मृतकका चार छोरा, एक छोरी, एक बुहारी र एक नातिनी छन् । बहिनी ज्वाईंको घर वीरगञ्जमा थियो, त्यसैले उपचारको क्रममा जेठो र कान्छो छोरा मात्र आएका थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !