द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ६ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २७ जनामा कोरोना संक्रमण रहेको पुष्टि गरेको हो । आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सर्लाहीका दुई जनामा समेत कोरोना संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका छन् ।
तर दुई जना सर्लाहीका पुरुषमा कोरोना संक्रमण रहेको भनेतापनि हाल तिनीहरु काठमाडौँमा रहेको खुलेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले आज पुष्टि भएका दुवै संक्रमित हाल काठमाडौँमै रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी जिसीले भने, ‘हामीले स्वाब पठाएका छैनौ, संक्रमितहरुले आफै काठमाडौँको टेकु अस्पतालमा गएर स्वाब परिक्षण गराएका छन् । बाहिर तिरबाट आएर हाल सर्लाहीमा भाडाको घरमा बस्दै आएकाहरुले जाँचको समय ठेगाना सर्लाही लेखेको खुलेको हो ।’
अहिले सम्ममा आएको जानकारी अनुसार संक्रमित मध्ये एकजना बागमती नगरपालिका वडा नं. ९ का ३४ वर्षीय पुरुष र अर्का हरिऔनको नयाँ सडकमा बस्ने ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।आज थप २७ जनामा कोरोना संक्रमण बढेसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय २ पुगेको हो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !