द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ५ ।
नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।आज भेरी अस्पतालको प्रयोगशालामा गरिएको जाँचमा बाँके जिल्लाका ४६ जना पुरुष र एक महिला गरी ४७ जनामा कोरोना संक्रमण रहेको पष्टि भएको छ ।
त्यस्तै मोरंग विराटनगर स्थित प्रयोगशालामा गरिएको परिक्षणमा एकजना पुरुष, भैरहवाको प्रयोगशालामा गरिएको परिक्षणमा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेलको अस्पतालमा धनुषा, रौतहट, दांग, धाधिंगका एक एकजना गरी चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै १८ वर्ष देखि ४६ वर्ष सम्मका रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । अहिले सम्ममा ३६ जना निको भएर आफ्नो घर फर्केका छन् भने दुई जनाको मृत्यु भएको छ ।कोरोनाको संक्रमण अहिले सम्ममा ३१ वटा जिल्लामा देखिएको छ ।
प्रदेश १ मा ४०, प्रदेश २ मा १३२, बाग्मती प्रदेशमा एकजनाको मृत्यु सहित १८, गण्डकी प्रदेशमा ३ प्रदेश ५ मा एकजनाको मृत्यु सहित १५९ र सुदुर पश्चिम प्रदेशमा ५ जना गरी कुल ३ सय ५७ जना संक्रमित भएका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !