द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ४ ।
महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाका पृतनापतीमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको छ । पृतनापतीमा संक्रमण देखिएका कारण लगभग २ हजार सेना रहेको सो ब्यारेकलाई सील गरिएको हो । पृतनापती संगै सोही ब्यारेकका एक चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको थियो ।
सो ब्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गण लगायत पृतना लगाएर दुई हजारको संख्यामा सेनाहरु रहेका छन् । त्यहाँ सेनाहरुमा संक्रमण बढ्न नदिनका लागि सेनाहरुलाई आवत जावतमा रोक लगाइनुका साथै सामाजिक दुरी कायम राख्नका लागि भनिएको छ ।
महोत्तरीका प्रमुअ जिल्ला अधिकारी सूर्य बहादुर खत्रीका अनुसार उनीहरु दूबैजनालाई उपचारका लागि काठमाडौँ पठाई सकिएको छ । उनले भने ‘ पृतनापती र चिकित्सक दूबैलाई उपचारका लागि सेनाकै गाडीमा शनिबार काठमाडौँ पठाइएको हो । उनीहरुको उपचार काठमाडौँस्थित सशस्त्र प्रहरीको आइसोलेसनमा चलिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी खत्रीले भने ‘दूबै जना प्रदेश दुईको विभिन्न स्थानमा गएर स्वाब संकलन गर्दै आई रहेका थिए ।’ पृतनापती र चिकित्सक जनकपुरधाम, विरगंज लगायतको स्थानमा स्वाब संकलनका लागि पुगेको खत्रीले बताए ।
अहिले कन्टाक्ट ट्रेसिंगको काम भई रहेको छ । प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार सो पृृतना भित्र अस्पताल, विद्यालय लगायतका संरचनाको निर्माण कार्य चलिरहेको थियो ।
सेनाको पृतनापतीमै कोरोनाको संक्रमणपछि ब्यारेक भित्र रहेका सेनामा त्रासको माहौल रहेको छ । उनीहरु दूबैको सम्पर्कमा कयौ सेनाहरु आएकाले संक्रमणको खतरा त्यहाँ पनि रहेको बताइएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !