द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २८ ।

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर भित्रको विवादले पूरै तातिएको थियो । मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव स्वघोषित रुपमा रामरोशन दास वैष्णव आफूलाई उत्तराधिकारी महन्थ भन्दै आएको एक सञ्चारमाध्यमलाई अभिव्यक्ति दिएपछि यो विवादले उग्र रुप लिएको थियो । यद्यपि सो विवाद शुरु भएको केही दिन पछाडी महन्थ राम तपेश्वर दास वैष्णव स्वयं आफ्नो अभिव्यक्तिबाट पल्टिएपछि यो विवाद अन्ततः साम्य भएको हो ।
महन्थ दासले आफूले आवेगमा आएर यस्तो अभिव्यक्ति दिएको स्वीकार गर्दै उनले भने ‘रामरोशनलाई मैले नै सबै थोक सम्हाल्न जिम्मेबारी दिएको छु, उसले नै अहिले मन्दिरको सबै उत्सव, पूजा लगायतको कार्य सम्हाल्दै आएको छ ।’
केही दिन अगाडी एक संचारमाध्यममा आफूले आवेगमा आएर उसले आर्थिक अपचलन गरेको आरोप लगाए जो सरासर गलत रहेको छ, मन्दिरको सबै हरहिसाब पारदर्शी रहेको बताए ।
उनले रामरोशनले जानकी मन्दिरको विभिन्न उत्सवहरु जस्तै विवाहपञ्चमी, रामनवमी, जानकी नवमी लगायतको उत्सवहरुलाई बृहत बनाएकोमा प्रशंसा समेत गरे ।
उनले भने ‘ मैले विवाहपञ्चमी तथा जानकी नवमीलाई ७ दिवसीय मनाउने परम्पराको शुरुवात गरे तर उसले जसरी यी उत्सवहरुलाई भव्यता प्रदान गरेको छ यसले अन्तर्रा्ष्ट्रिय स्तरमा समेत यी उत्सवहरुको चर्चा हुन थालेको छ ।
जानकी मन्दिरको उत्सवहरुमा आर्थिक रुपमा सहयोग गर्ने महन्थकै एक चेला पवन चौधरीले रामरोशनमा साधु सन्तको कुुनै पनि किसिमको गुण नरहेको तथा भोग विलासमा मात्रै लिप्त रह्ने गरेको आरोपलाई महन्थ दासले ठाडै अस्वीकार गरे । उनले रामरोशनको चरित्रमा रत्तिभर शंका नरहेको तथा दैनिक पूजा आरती तथा मन्दिरको उत्सवलाई भव्य बनाउने कार्यमा लिप्त रह्ने गरेको दावी गरे ।

यी सबै विवाद केक प्रकरणबाटै शुरु भएको थियो यस विषयमा चर्चा गर्दै महन्थ दासले भने ‘ केक काटिएको विषय गलत हो, त्यहाँ भक्तजनहरुले केक जानकीजीलाई केक अर्पण गरेका थिए, भक्तजनहरुको भावनालाई कदर गर्दै सो केक प्रसाद स्वरुप वितरण गरिएको मात्रै हो, यसलाई विवादित बनाउने कुनै कुरो नै छैन ।’ उनले मन्दिरमा आजसम्म केक नकाटिएको दावी गर्दै प्रसाद स्वरुप फलफूल मात्रै अर्पण गर्दै आइएको दावी गरे ।
सामाजिक सञ्जालमा मन्दिर परिसर भित्रै केटी नचाएको विषयमा समेत उनले खुलेर जवाब दिए । महन्थ दासले आफ्नो जानकारी बिना त्यहाँ सोहर गान हुँदै थियो, लकडाउनको अवधीमा यस प्रकारको नाचगान भई रहेको देखेर आफूले नै प्रहरी बोलाएर खाली गराउन लगाएको जानकारी दिदै भने ‘मेरो अभिव्यक्तिबाट दिदी बहिनी कसैलाई आघात पुगेको छ भने म माफी समेत चाहन्छु ।’
यता रामरोशन दासले आफू गुरु बिरुद्ध बोल्न नसक्ने भएकोले उनको क्रोध शान्त हुन्जेल चुप्प लागेर बसेको बताए । उनले भने ‘साधु समाजमा गुरुको स्थान सबैभन्दा माथी रहेकोले गुरुले आफूलाई राखुन यहाँ नराखुन मलाई स्वीकार छ, तर गुरु बिरुद्ध म केही बोल्न सक्दिन ।’
रामरोशनले गुरुजीकै आदेशमा आफूले मन्दिर भित्र हरेक क्रियाकलाप गर्ने गरेको दावी गर्दै जानकी नवमीको समयमा लकडाउनलाई केन्द्रित गरिएको विज्ञापन शुटिंग, मन्दिर परिसर भित्र भएको सोहर गान लगायतको विषयमा आफूले जानकारी नगरायनु मेरो भूल थियो बताए । यद्यपि गुरुजीलाई सबै कुरोको जानकारी गराएपछि उनले समेत मेरो कुुरो मान्नु भएको बताए ।
पवन चौधरीले् लगाएको आरोपलाई खण्डन गर्दै रामरोशनले मात्रै पवनजीले उपलब्ध गराएको खर्चबाट मन्दिरको उत्सवलाई भव्य बनाउन सकिदैन । यी उत्सवहरुलाई भव्य बनाउन अन्य संघ संस्था तथा सरकारबाट सहयोग लिनु मजबुरी रहेको बताए ।
गुरुजी कसैसंग चन्दा वा कुनै आर्थिक सहयोग लिन नभने पनि आफूले जसोतसो जम्मा गरेर मन्दिरमा आयोजन हुने विवाहपञ्चमी, रामनवमी, जानकी नवमी लगायतको उत्सवलाई भव्यता प्रदान गर्दै आएको दावी गरे ।
आफूले आर्थिक अनियमितता गरेको अस्वीकार गर्दै रामरोशनले सबै काम पारदर्शी रुपमा गरिएको दावी गर्दै लकडाउन खुले लगत्तै विवाह पञ्चमी तथा जानकी नवमीको आय व्ययको विवरण सार्वजनिक गर्ने जानकारी दिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !