रासस
काठमाण्डौं, बैशाख २७ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला समस्यामा परेका राजधानीका दुई वृद्धाश्रमलाई मानवअधिकार तथा शान्ति समाजले खाद्य सामग्री सहयोग गरेको छ ।
कागेश्वरी मनोहरा नगरापालिकाको गागलफेदीस्थित ज्येष्ठ नागरिक सेवा आश्रम र कीर्तिपुर नगरपालिकाको टौदहस्थित निजानन्द वृद्धाश्रमलाई रु २५-२५ हजार गरी कूल रु ५० हजार मूल्य बराबरको चामल, दालसहितका खाद्य सामग्री सहयोगस्वरुप हस्तान्तरण गरेको शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले जानकारी दिए ।
खाद्य सामग्री वितरणका लागि काठमाडौँ निवासी डा देवेन्द्रराज पाण्डे र पद्मा पाण्डेले रु २५ हजार सहयोग गर्नुभएको थियो । यसैगरी विराटनगर निवासी बद्रीप्रसाद पहाडीले पनि रु २५ हजार नै सहयोगस्वरुप शान्ति समाजलाई उपलब्ध गराउनुभएको शान्ति समाजले जनाए ।
समाजका तर्फबाट सभापति पुडासैनी, कोषाध्यक्ष रामकृष्ण बराल र सदस्य भगवान् पुडासैनीको समूहले शुक्रबार दुवै वृद्धाश्रममा पुगी सहयोगस्वरुप खाद्य सामग्री हस्तान्तरण गरेको हो ।
बन्दाबन्दीका कारण अत्यावश्यक सामग्री सहजै खरिद गर्न नपाउँदा ज्येष्ठ नागरिक सबैभन्दा बढी जोखिममा पर्ने भएकाले सहयोग जुटाएर वृद्धाश्रमलाई हस्तान्तरण गरिएको शान्ति समाजले जनाएको छ ।
वृद्धवृद्धालाई राख्ने संस्था विभिन्न दाताको सहयोगमा चल्ने भए पनि बन्दाबन्दीका कारण दाता भेट्न पनि गाह्रो हुने भएकाले समाजका तर्फबाट समन्वय गरी सेवा पु¥याइएको सभापति पुडासैनीले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !