
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, बैशाख २२ ।
जनकपुरधाम हुँदै भारत जान लागेका २३ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँबाट पैदल हिँडेर भारत जान लागेको अवस्था जनकपुरधामस्थित विद्यापति चोकमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सबै भारतको बिहार राज्यको रहेको बताइएको छ । उनीहरु सबैलाई जनकपुरधामको विदापति चोकमा खटिएका प्रहरीको टोलीले सोधपुछ गर्दा काठमाडौँबाट प्रदल हिडेर जनकपुरधामसम्म पुगेको र भारती सीमा पार गरेर आफ्नो घर जान लागेको बताइएको छ ।
ती भारतीय हरु काठमाडौँमा काम गर्दै आएका थिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले लकडाउन लगाएपछि भोक भोकै बस्नु पर्ने बाध्यता रहेकोले आफूहरु पैदल नै घर तर्फ हिँडेको उनीहरुले प्रहरीलाई बताएका छन् ।
७ दिन अगाडी ती भारतीयहरु काठमाडौँबाट भारतको दरभंगाका लागि हिँडेका थिए । ७ दिनपछाडी मात्रै उनीहरु जनकपुरधाम आई पुगेको एक जनाले बताए ।
नियन्त्रणमा लिइएका सबैलाई नगराइन नगरपालिकामा रहेको क्वारेण्टाइनमा पठाइएको छ । यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले यस विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !