
एजेन्सी, बैशाख २२ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुने विश्वास रहेको बताएका छन् ।
फक्स न्यूजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास तीव्र गतिमा रहेकाले यो वर्षको अन्त्यसम्ममा अमेरिकामा खोप उपलब्ध हुने बताएका हुन् ।
उनले भने, ‘मलाई पूरा विश्वास छ कि यो वर्षको अन्त्यसम्म हामीले खोप पाउने छौँ।’
ट्रम्पले आउँदो सेप्टेम्बरमा विद्यालय खोल्ने बताए । तर संक्रमणको जोखिम रहेका पाको उमेरका शिक्षकको चिन्ता रहेको उनले बताए ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आफूले राम्रो काम गर्न नसकेको भन्ने डेमोक्र्या्टिक पार्टीका नेताको आलोचना राजनीतिक स्वार्थका कारण प्रेरित भएको ट्रम्पले आरोप लगाए ।
यस्तै हाइड्रोक्सिक्लोरोक्विन औषधि उत्पादन गर्ने कम्पनीमा आफ्नो शेयर नरहेको दाबी गर्दै ट्रम्पले सो औषधिको प्रयोगका कारण मानिसहरुको जीवन जोगिएको पनि बताए ।
कोरोना भाइरसको संक्रमण रोक्नका लागि समयमै प्रयास किन नगरेको भन्ने प्रश्नको जवाफमा ट्रम्पले भने, ‘जनवरी २३ मा मलाई भनिएको थियो कि भाइरसको संक्रमण फैलिन सक्छ, तर जोखिम त्यति थिएन ।’
चीनबाट आउने विमानलाई आफूले पहिले नै रोक लगाएको उनले बताए।
यो विषयमा टिप्पणी गर्नुहोस् !