एजेन्सी तेहरान, वैशाख २२ ।
इरानले थप कोरोनाभाइरस सङ्क्रमणका घटना नदेखिएका स्थान वा शहरका मस्जिदलाई खुला गर्ने तयारी गरेको राष्ट्रपति हसन रुहानीले आइतबार बताएका छन्।
कोरोना भाइरस सङ्क्रमणबाट बढी प्रभावित मुलुकमध्येको एक इरानले पछिल्लो समय नयाँ सङ्क्रमण नदेखिएका स्थानमा प्रार्थनाका लागि मस्जिदलाई खुला गर्ने बताएको हो ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको बढी जोखिम रहेका र कम जोखिम रहेका, सङ्क्रमित र सङ्क्रमणका कारण मृत्यु धेरै भएका स्थानलाई सेतो, पहेँलो र रातो क्षेत्रमा वर्गीकरण गरेको र स्थान अनुसार बन्दाबन्दीलाई केही खुकुलो पार्ने तयारी गरेको रुहानीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा बताएका हुन्।
शुक्रबारको प्रार्थनालाई केही मस्जिदमा पुनः सञ्चालन गरिनेछ। तर सबै कदम स्वास्थ्य अधिकारीले निर्धारण गरेको नियमको पालना र सम्मान गर्ने शर्तमा मात्रै लिइने छ।
’सङ्क्रमण नियन्त्रणमा आउँदासम्म मस्जिदमा सामाजिक दूरी कायम गर्नुपर्ने नियमलाई कडाईका साथ पालना गर्नुपर्नेछ’, राष्ट्रपतिले देशका कतिपय स्थानमा लकडाउनलाई खुकुलो पार्ने बताउँदै भने।
इरानमा ९७ हजार ४२४ जना कोभिड–१९ बाट सङ्क्रमित रहेका छन् भने छ हजार १५६ जनाको आइतबारसम्म निधन भइसकेको छ।
इरानको कोम सहरमा सबैभन्दा पहिले फेब्रुअरी १९ मा सङ्क्रमित भेटिएको थियो।इरान सरकारले आगामी अप्रिल ११ देखि औद्योगिक तथा व्यवसायिक गतिविधिलाई सञ्चालनमा ल्याउने तयारी गरेको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !