
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २१ ।
महोत्तरीमा विगत केहि दिन देखि शंकास्पद रुपमा व्यक्तिहरुको मृत्यु हुन थालेपछि तिनीहरुको कोरोना परिक्षण गरिएको हो । परिक्षण गरिएकाहरुको रिपोर्ट कोरोना नेगेटिभ आएको हो । महोत्तरीको दुई वस्तीमा शंकास्पद रुपमा १२ जनाको मृत्यु भएको हो ।
विगत १० दिन देखि दुईवटा बस्तीमा शंकास्पद रुपमा मृत्यु हुन थालेपछि तिनीहरुको शव परिक्षण गर्दा तिनीहरुमा कोरोनाको संक्रमण नरहेको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
महोत्तरीको भंगहा नगरपालिका वडा नंं. ६ र वडा नं. ७ तथा बर्दिबाँस नगरपालिकाको वडा नं. १२ मा केहि दिनको अन्तरालमा १२ जनाको मृत्यु भएको खबर आएपछि तिनीहरुको कोरोनाको संक्रमणबाट मृत्यु भएको हुन सक्ने आशंकामा स्वास्थ्य परिक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको सचिव घिमिरेले जानकारी दिए ।
मृत्यु हुने मध्ये दुईजनाको स्वाब परिक्षण गर्दा तिनीहरुको रिपोर्ट कोरोना नेगेटिभ आएको हो । भंगहा नगरपालिका वडा नं. ७ का ४० वर्षीय र ५७ वर्षीय पुरुषको स्वाब परिक्षण गर्दा तिनीहरुमा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको हो ।
भंगहा नगरपालिका वडा नं. ७ का ४६ वर्षीय पुरुषको वैशाख १५ गते अत्याधिक मदिरा सेवन गरेको र त्यसपछि टाउको दुखेर १७ गते मृत्यु भएको परिवार जनले जनाएको हो ।
त्यस्तै वडा नं. ७ कै ५० वर्षीय पुरुष ग्याष्टीक अल्सरको बिरामी रहेको र वैशाख १६ गते घरमै मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
वडा नं. ७ कै ५० वर्षीय पुरुषको विषादी सेवनको कारण मृत्यु भएको खुल्न आएको हो । एक महिना पहिला विषादी सेवन गरेको उनको विरामी रहेकै अवस्थामा वैशाख १६ गते मृत्यु भएको हो ।
वैशाख १६ गते मदिरा सेवन गरेर घर आएका वडा नं. ७ कै ४० वर्षीय पुरुष घर बाहिर सौच गर्न जाँदा रिंगटा लागेर लडेपछि अस्पताल लग्दा उपचारको क्रममा उनको मृत्यु भएको हो ।उनको कारोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
त्यस्तै वैशाख १८ गते भंगहा नगरपालिका वडा नंं. ७ मै ६० वर्षीय पुरुषको पेट दुख्दा स्थानिय अस्पतालमा लग्दा प्रादेशिक अस्पतालमा रिफर गरेपछि बाटोमै मृत्यु भएको हो । उनको पनि स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
त्यस्तै भंगहा नगरपालिका वडा नं. ७ कै ५५ वर्षीय एक महिला र ५८ वर्षीय पुरुषको मृत्यु भएकोमा उनीहरुको पनि कोरोना परिक्षण भईरहेको र हालसम्मको परिक्षणबाट तिनीहरु पनि कोरोना संक्रमित नरहेको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जानकारी दिए ।
त्यस्तै बर्दिबाँस नगरपालिका वडा नं. १२ मृत्यु भएका ५५ वर्षीय एक जना भारत उत्तरप्रदेश राज्यका पुरुषको मृत्यु भएको हो । उनी बर्दिबाँसकै स्थानिय ईँटा भट्टामा काम गर्दै आएका थिए ।
त्यस्तै वडा नं. १२ कै २६ वर्षीय पुरुष मृगौलाको विरामी रहेको र उपचारको क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै वडा नं. १२ कै ५५ वर्षीय महिला उच्च रक्तचापको विरामी रहेको र ब्रेन हेमोरेज भई उनको मृत्यु भएको खुल्न आएको हो । यहाँकै ५६ वर्षीय पुरुषको पनि मृत्यु हुँदा उनमा कोरोनाको संक्रमण नरहेको प्रारम्भीक परिक्षणबाट खुलेको हो ।
केहि दिनमा महोत्तरीको दुई वस्तीमा १२ जनाको मृत्यु भएपनि केहिको सव जलाइएकोले तिनीहरुको स्वास्थ्य परिक्षण गरिएको छैन् । केहि दिनमा १२ जनाको मृत्यु भएपछि त्यस स्थानमा स्वाब परिक्षण गर्ने, तथ्यांक र वस्तुस्थितिको विवरणको काम सुरु भएको हो ।
भंगहा नगरपालिका वडा नं. ७ मा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, स्वास्थ्य सेवा विभाग काठमाडौँका प्रतिनिधि, सामाजिक विकास मन्त्रालय प्रदेश २ का प्रतिनिधि र स्थानिय स्वास्थ्यकर्मीहरुको परिचालन गरिएको सचिव घिमिरेले जानकारी दिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !