
एजेन्सी अमेरिका, वैशाख २१ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन लामो समयपछि सार्वजनिक भएको र उनी स्वस्थ देखिएकोमा खुसी व्यक्त गरेका छन्।
’म उनी फर्केर आएकोमा खुसी छु र उनी स्वस्थ पनि छन्’, ट्रम्पले ट्विट गर्दै भनेका छन्। झन्डै तीन हप्तापछि किम शनिबार एक सार्वजनिक कार्यक्रममा पहिलो पटक उपस्थित भएका थिए।
अप्रिल १५ मा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सङको जन्मदिनको वार्षिकोत्सव समारोहमा उपस्थित नभएपछि किमको स्वास्थ्यलाई लिएर विभिन्न हल्ला चलेका थिए।
उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएले जारी गरेको समाचार अनुसार किमले एक मल कारखानाको निर्माण समापनको रिबन काटेका थिए र २१ दिन पछि उनी पहिलो पटक कुनै सार्वजनिक कार्यमा सहभागी भएका थिए।
सोमबार अनुमान र अफवाहका बीच राष्ट्रपति ट्रम्पले किमको अवस्था बारेमा बुझेको बताएका थिए, तर उनले कुनै पनि टिप्पणी दिएका थिएनन्।
’म उनको स्वास्थ्यको कामना गर्दछु,’ ट्रम्पले त्यतिबेला भनेका थिए।राष्ट्रपति ट्रम्प र किमले हालसालै अद्वितीय सम्बन्ध विकास गरेका छन्।
उनीहरूबीच सन् २०१८ यता तीन पटक भेटवार्ता भइसकेको छ भने व्यक्तिगत पत्र साटासाट समेत हुने गरेको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !