
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २० ।
जानकी नवमीको अवसरमा जानकी मन्दिरमा प्रसाद स्वरुप केक अर्पण गरिएपछि विभिन्न प्रकारको टिका टिप्पणीहरु भयो ।
सामाजिक सञ्जालमा समेत यस विषयमा टिकटिप्पणी हुन थालेपछि जानकी मन्दिरले केक मन्दिरको तर्फबाट नभई श्रद्धालु भक्तजनले प्रसाद स्वरुप अर्पण गरेको स्पष्ट पारेको छ ।
शुक्रबार जानकी नवमीको अवसरमा केहि भक्तजनहरुले जानकी मन्दिरमा केक प्रसाद स्वरुप अर्पण गरेपछि सामाजिक सञ्जालमा टिकाटिप्पणीको विषय बनेको थियो ।
कसैको जन्म दिन, कसैकोे विवाहको वर्षगाँठ परेकोले जानकी मन्दिरमा प्रसाद स्वरुप केक अर्पण गरेको बताइएको छ ।
त्यसपछि उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकी मन्दिरले नभई श्रद्धालु भक्तजनले नै मिठाई स्वरुप केक भगवानलाई चढाएको स्पष्ट पारे ।
यसका साथै जानकी नवमीको अवसरमा मन्दिरको प्रांगणमा भएको बधैया गान र भण्डारालाई अन्यथा रुपमा सामाजिक संजालमा गलत टिप्पणी गरी जानकी मन्दिर र मिथिला संस्कृति उपर प्रहार नगर्न उत्तराधिकारी महन्थ दासले आग्रह गरेका छन् ।
सामाजिक संजालमा जानकी मन्दिरमा प्रसाद स्वरुप केक चढाएको विषयमा गलत टिकाटिप्पणी हुन थालेपछि केक चढाएका भक्तजनहरुले समेत सो विषयलाई लिएर रोष प्रकट गरेका छन् ।
केक अर्पण गर्नेहरु मध्ये जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी समेत थिए । भण्डारीले आफ्नो विवाहको वर्षगाँठ रहेकोले मन्दिरमा प्रसाद स्वरुप ब्रेड र खुवाबाट बनाइएको केक भगवानलाई चढाएको स्वीकार गरे ।
उनले भने ‘करिब ४ वर्ष देखि विवाहको वर्षगाँठ मनाउनका लागि केक चढाउने गरेको छु, तर यस वर्ष मात्र सामाजिक संजालमा केक चढाएको फोटो भाइरल भएपछि यसको गलत अर्थ लागाइएकोमा एकदमै दुःख लागेको छ ।’ हामीहरु मिथिला परम्परा र संस्कृतिकको खिलाप नरहेको स्पष्ट पारे ।
त्यस्तै अर्का श्रद्धालु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने गंगा देवी राउतले नातिनीको जन्मदिन जानकी नवमीकै दिन रहेकोले सो दिन जानकी मन्दिरमा प्रसाद स्वरुप केक चढाएको बताइन् ।
उनले भनिन् ‘परम्परा र संस्कृतिको खयाल गरी मैले खुवाको केक चढाएँ ।’
जानकी नवमीको अवसरमा केक अर्पण गर्नेहरुमध्ये सहयोगी विकास बैंक जनकपुरमा कार्यरत सीमा दत्त समेत थिइन् । उनले यो कुनै विवादको विषय नरहेको बताइन ।
यो विषयमा टिप्पणी गर्नुहोस् !