
एजेन्सी रसिया, वैशाख १९ ।
रसियाका प्रधानमन्त्री मिखाइल भि मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ।
बिहीवार आफूलाई कोभिड-१९ भएको जानकारी उनी स्वयंले दिएका हुन्।
५४ वर्षिय मिखाइल गत जनवरीमा रसियाको प्रधानमन्त्री बनेका थिए। राष्ट्रपति भ्लादमिर पुटिनसँगको भिडिओ कन्फ्रेन्समा उनले आफूलाई कोभिड-१९ भएको घोषणा गरेका हुन्।
उनी कोभिड-१९ को संक्रमण हुने सबैभन्दा उच्च तहका रसियन हुन्।
’मैले भर्खरै मेरो परीक्षणमा कोरोना भाइरस पोजेटिभ भएको प्रमाणित भएको छ, मिसुस्टिनले पुटिनसँगको टेलिभिजन छलफलमा भने।
मिसुस्टिनले त्यसपछि आममानिसहरूलाई सम्बोधन गर्दै कोरोना भाइरस संक्रमणलाई गम्भीरताका साथ लिन आग्रह गरेका थिए।
यसैगरी उनले राष्ट्रपति पुटिनसँग स्वास्थ्य अधिकारीले सिफारिस गरे बमोजिमको ’सेल्फ(आइसोलेशन’मा बस्ने बताएका छन्।
पुटिनले उनको स्वास्थ्यलाभको कामना गरे।
त्यसैगरी पुटिनले प्रधानमन्त्रीको आग्रहमा आफ्नो अनुपस्थितिमा उप(प्रधानमन्त्री एन्द्रेइ आर बेलुसोभलाई अस्थायी जिम्मेवारी दिने भएका छन्।
मिसुस्टिन प्राविधिकरुपमा रसियाका दोश्रो ठूला अधिकारी हुन्, उनी पुटिनको निकट घेरा भन्दा बाहिरका व्यक्ति हुन्।
पुटिनले प्रधानमन्त्रीमा आश्चर्यजनकरुपमा नियूक्त गर्नुअघिसम्म उनी रसियाको कर विभागको प्रमुख थिए।
पुटिनमाथि कोरोना भाइरसलाई सुरुमा कम आँकेको आरोप छ। पछि अवस्था गम्भीर भएपछिमात्रै उनी यसलाई सम्बोधन गर्न बाध्य भएका थिए। रसियामा कोरोनाको संक्रमण दुर्त गतिमा फैलिएको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !