द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख १९ ।

जानकी नवमी अर्था आदर्श नारीको प्रतीक माता जानकीको धरतीमा अवतरण भएको दिन । मिथिलावासीका लागि जानकी नवमी एक विशेष तिथि हो । माता जानकीको जन्म वैशाख नवमीकै दिन धरतीमा अवतरण भएको थियो । त्रेता युगमा वैशाख नवमीका दिन मिथिलामा अनिकाल परेपछि मिथिला नरेश राजर्षि जनकले हलो जोत्दा सीताको जन्म भएको धार्मिक मान्यता रहेको छ ।
जानकी नवमीमा पूरै मिथिलाञ्चलमा विशेष हर्षोल्लास हुने गर्छ । विशेष उत्सवको माहौल हुने गर्छ । तर यस पटक विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणको डरका कारण कुनै किसिमको विशेष पूजाको आयोजना नगरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए ।

उनले यस पटक विशेष कार्यक्रमको आयोजना नगरिएपनि मन्दिरमा विशेष पूजा हुने बताए । उत्तराधिकारी महन्थ दासले सम्पूर्ण मिथिलावासीलाई लाई घर घरमै विशेष पूजा गर्नुका साथै बेलुका दिपावली मनाउन आग्रह गरेका छन् । जानकी नवमीका दिन मिथिलामा ब्रत गर्ने परम्परा समेत रहेको छ ।
जानकी नवमी व्रत गर्नाले पुत्रलाभको ईच्छा पुरा हुने विश्वास गरिन्छ । माता सीतालाई लक्ष्मीको अवतारको रुपमा समेत मानिन्छ । माता सीताको ब्रत गर्नाले घर–घरमा सुख, समृद्धि र धनको बृद्धि समेत हुन्छ ।
जानकी नवमी कथा
त्रेता युगमा मिथिलामा वर्षोसम्म अनिकाल परेपछि राजा जनकले स्वयं हलो जोत्नुका साथै यज्ञको आयोजना गर्ने विचार गरे । यज्ञभूमि तयार पार्न राजर्षि जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । माता जानकीको नाम सीता राख्नु पछाडीको कारण यसै संग जोडिएको छ । हलोको डोबलाई संस्कृतमा सीत भनिन्छ ।

त्यसैले राजा जनकले उनको नाम सीता राखे । रामायणको पात्र, घटनाक्रम र कथानकलाई लिएर कयौ ग्रन्थको रचना भएको छ । रामायणको कतिपय पक्षहरुको शोध तथा अनुसन्धान हुनु अझै आवश्यक रहेको छ ।
यस विषयमा माता सीता र रावण बीचको सम्बन्ध पनि अनुसन्धानको पाटो भित्र पर्छ । केही विद्वानले सीता र रावणबीच बुुवा र छोरीको सम्बन्ध रहेको भनेपछि यस विषयमा निकै शोध भइरहेको छ । हुनतः रामायणको सबै भन्दा प्रमाणिक ग्रन्थ वाल्मीकि रामायणमा यो प्रसंगबारे त्यस्तो कुनै उल्लेख देखिदँैन । बाल्मीकि रामायणमा जनकजीले सीताको उत्पतिको विषयमा यस प्रकार भनेका छन् ।
अथमे कृषतः क्षेत्रं लांगला दुत्यिता ततः ।
क्षेत्रं शोधयता लब्धा नाम्ना सीतोति विश्रुता ।।
भूत कादुत्थिता सा तु व्यवद्र्धत भमात्भजा ।
दीर्ययुक्लोति मे कन्या स्थापितेय भयोनिजा ।।
रामको जीवनमा करीब २ सय भन्दा बढी रामायण लेखिएको छ । कति ग्रन्थका विद्वान सीता र रावणबीचको सम्बन्धलाई प्रमाणिक पनि मान्छन् । यस्तै एउटा रामायण जसको नाउँ अद्वेत रामायण रहेको छ । भनिन्छ यो रामायण १४ औं शताब्दीमा लेखिएको छ । यो मुलतः कथानक नभएर दुई प्रमुख ऋषि वाल्मीकि र भारद्वाज ऋषि बीच वार्तालाप रहेको छ ।
यो रामायणमा सीताको जन्म मन्दोदरीको गर्भबाट भएको उल्लेख रहेको छ । यस रामायणमा पूरै घटनाक्रमलाई उल्लेख गरिएको छ । जसमा रावणले एक ठाउँमा भनेका छन् धोखामा पनि आफ्नै छोरीलाई स्वीकार गरियो भने मेरो नाश हुन्छ ।

अद्भूत रामायणमा कथा आउँछ कि एक पटक दण्डकारण्यमा गृत्स्मद नामका ब्राह्मण लक्ष्मीलाई आफ्नो पुत्रीको रुपमा पाउनका लागि एक दिन कलशमा कुशको एउटा भागलाई मन्त्रोचारणका साथ दुध राखे । एक दिन उनको अनुपस्थितिमा रावण घर पुगे र ऋषि मुनीको रगत त्यसै कलशमा राखेर लंका लगे । कलशमा विष रहेकोले यसलाई संरक्षण गर्न मन्दोदरीलाई भनेर जिम्मा लगाएका थिए ।
यसपछि रावण विहार गर्न सह्द्री पर्वतमा गए । रावणको उपेक्षाबाट दुःखी भएर मन्दोदरी आत्म हत्याको अभिप्रायले त्यो कलशमा भरिएको रगत खाई हालिन् ।

पछि मन्दोदरी गर्भवती भईन् । अशुभको डरले रावणले उनको भ्रुण निकालेर मिथिला भूमिमा गारे र पछि त्यहि भ्रूण परिपक्व भएर प्रकट भयो जो हलो चलाउँदा राजा जनकलाई प्राप्त भएको प्रसंग सो रामायणमा उल्लेख रहेको छ । आदर्श नारी सीताको जनकपुर सँगको सम्बन्ध जन्मकाल देखीनै रहेको छ । राजा जनकले हलो जोत्दा जनकपुर नजिकै सीता प्रकट भएकी थिइन् ।
त्यसैकारणले होला जानकी नवमीमा भक्तजनहरु जनकपुर आउने गर्छन् । विक्रम सवंत १४१७ मा जनकपुर खोज्न भारतको राजस्थान बाट जनकपुर आएका महन्थ सुर किशोर दासले रामजानकीको प्रतिमा यहि फेला पारेका थिए । वि. सं. १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बीघा दान दिएको लिखत् अझै छ ।
पछि भारतको टिकमगढकी महारानी बृषभानु कुमारीले जनकपुरमा भव्य मन्दिर बनाएका थिए । मिथिला, राजपुत, मुगल र हिन्दुकलाशैलीको समिश्रण रहेको जानकी मन्दिर सन् १८९४ मा शिलान्यास भई सन १९११ मा निमार्ण भएको थियो । धैर्य, संयम र विवेककी प्रतिमूर्ति सीताको आदर्श कथा संसारभरि प्रसिद्ध रहेको छ । पुराणको सन्दर्भलाई हेर्ने हो भने उनका बराबरकी आदर्श नारी कोही देखिदैँन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !