
द सौर्य मिथिला समाचारदाता
रौतहट, वैशाख १६ ।
रौतहटमा दुई जना कोरोना संक्रमित व्यक्ति भेटिएपछि उनीहरुका गाउँलाई स्थानीय प्रशासनले सील गरेको छ ।स्थानीय प्रशासनले रौतहटको वृन्दावन नगरपालिका-१ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिका–१ को नहरटोल सील गरेर मानिसको आवतजावतमा पूर्ण रोक लगाएको छ ।
वृन्दावन नगरपालिका-९ भुसाहाको दक्षिणमा भीम डाबर गाउँ, उत्तरमा आकरपाथर गाउँ पश्चिममा बहुअरी र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँको चार किल्लाभित्र रहेका गाउँहरु सील गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
यसैगरी देवाही गोनाही नगरपालिका–१ नहरटोल पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लाल बकैया नदीको नहर, दक्षिणमा नहर ९मन० र उत्तरमा खेसरहिया गाँउभित्रको इलाका सील गरिएको पनि जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
सील गरिएको इलाकबाट कुनैपनि व्यक्ति बाहिर निस्कने र अन्यत्रबाट प्रवेश गरेमा कडा कारबाही गरिने जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।रौतहटको वृन्दावन नगरपालिका-१ भुसहाका २५ वर्षीय पुरुष र देवाही गोनाही नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उक्त क्षेत्र सील गरेको हो ।
यसअघि प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालाको परीक्षणमा एकजनामा नेगेटिभ नतिजा देखिएको थियो ।तर, राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा लगिएको छ।भुसहाका संक्रमित व्यक्ति १० दिनदेखि घर परिवारमा बसेर घुमफिर गर्दै आएका थिए ।
यसैगरी अर्का संक्रमित देवाही गोनाही बस्ने व्यक्ति पछिल्लो समय क्वारेन्टाइनमा रहेपनि त्यसअघि घरपरिवार एवं ससुराली बसेका थिए ।मंगलबार कोरोना संक्रमित देखिएका दुबैजना बस्ने इलाका ‘मास स्क्रिनिङ’ गरी नतिजा नआएसम्म सील गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
संक्रमण भेटिएका २५ वर्षीय पुरुष भारतको कोलकत्ताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेपछि घर गइसकेका थिए ।उनको २७ चैतमा प्रादेशिक अस्पताल जनकपुरमा भएको स्वाब परीक्षणमा निगेटिभ नतिजा आएको थियो ।यसैगरी ३५ वर्षीय पुरुष नयाँ दिल्लीबाट वैशाख ४ गते घर आएका थिए । उनको गत विहिबार प्रादेशिक अस्पताल जनकपुरमा स्वाब परीक्षण भएको थियो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !