
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशााख १५ ।
कोरोना संक्रमणको त्रास तथा लकडाउनका कारण पूर्वाधार विकास निर्माणका कार्यहरु ठप्प रहेको समयमा प्रदेश सरकारले यसलाई अगाडी बढाउने तयारीमा जुटेको छ । प्रदेश २को भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले लकडाउनमा पनि प्रदेशको पूर्वाधार निर्माणका कार्य अगाडि बढाउने तयारीमा जुटेको जानकारी दिएका हुन् ।
मन्त्री सोनलले सोमबार लकडाउन अवधि र त्यसपछि विकास निर्माणको कार्यलाई तीव्रता दिन सरोकारबालाहरुसँग छलफल गरेका हुन् । कोरोना महामारीबाट जोगिँदै विकास निर्माणको कार्य पनि नरोकियोस् भन्दै तयारी तीव्र रुपमा अगाडी बढाइएको हो ।
मन्त्री सोनलका अनुसार सडक विस्तारतर्फ प्रदेश २ को एउटा जिल्लालाई अर्को जिल्लासँग जोड्ने, एउटा स्थानीय निकायलाई अर्को निकायसँग जोड्ने कालोपत्रे सडक लगायतको विषयमा छलफल भएको छ ।
उनका अनुसार लकडाउन अवधिमा तयारी गर्ने र सम्भव भए काम पनि अगाडि बढाइनेछ । नभए लकडाउन समाप्त भएलगतै विकास निर्माणको कार्य अगाडी बढाइने उनले जानकारी दिए । छलफलमा मन्त्री सोनलसहित राज्यमन्त्री डा. डिम्पल झा, सचिव राजेन्द्र खनाल र महाशाखा प्रमुख सहभागी थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !