
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख १५ ।
विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा लकडाउन लागेको ३५ दिन भई सकेको छ । कोरोना संक्रमण फैलिन नदिन लकडाउनको पूर्ण पालन गर्दै सामाजिक दूरी कायम राख्न सरकारले पटक पटक अनुरोध गर्दै आई रहेको छ ।
तर, कोरोना संक्रमण फैलिरहेको बेला प्रादेशिक अस्पताल जनकपुरधामभित्रै सामाजिक दूरीको पालन नगरिएको पाइएको छ । बालबालिकाको लागि संघीय सरकारले सञ्चालनमा ल्याएको नियमित खोप दिलाउन प्रादेशिक अस्पतालको संस्थागत क्लिनिकमा सामाजिक दूरीको परवाह नगरी सयौंको संख्यामा अभिभावकहरु पुगेका थिए ।
यसअघि वडा कार्यालयमार्फत् बालबालिकालाई खोप दिइए पनि यसपटक उपमहानगरपालिकाले चासो नदिँदा प्रादेशिक अस्पतालको संस्थागत क्लिनिकमा भीडभाड बढेको हो ।
संस्थागत क्लिनिकमा भीडभाड बढे पनि सामाजिक दूरी कायम गराइएको देखिएन । खोप लिने साना बालबालिकाहरु रहेकोले भीडभाडमा उनीहरु थप जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
संघीय सरकारको परिपत्र अनुसार गत शुक्रबारदेखि नियमित खोप सञ्चालन भए पनि उपमहानगरले बालबालिकाहरुलाई वडामा खोप दिने व्यवस्था नगरेपछि संस्थागत क्लिनिकमा भीडभाड बढेको जनस्वास्थ्य कार्यालयका प्रमुख इन्द्रप्रसाद यादवले बताए ।
खोप सञ्चालन गर्न बिहीबार संघीय सरकारको पत्र हामीलाई प्राप्त भयो । शुक्रबारदेखि वडाहरुमा खोप सञ्चालन गर्न स्थानीय तहहरुलाई जानकारी गराइसकिएको छ,’ उनले भने, ‘वडाहरुमा खोप सञ्चालन नभएपछि संस्थागत क्लिनिकमा भीड बढेको छ ।’
वडा कार्यालयमै खोप सञ्चालन गराउन आफूहरुले सम्बन्धित निकायलाई जानकारी गराइसकेको उनले बताए ।जनकपुरधाम उपमहानगरपालिकाका खोप शाखाका प्रमुख उमेश रायले जनशक्ति अभावका कारण वडाहरुमा खोप सञ्चालन हुन नसकेको बताए ।
‘दुईजना कर्मचारी छन्, बालबालिकालाई खोप दिने कि सामाजिक दूरी कायम गराउने,’ रायले भने, ‘वडा कार्यालयहरुमा भीडभाड बढी हुने भएपछि खोप सञ्चालन गर्न कठिनाइ भएको छ ।’जनशक्ति थप्ने कुरा भइरहेको बताउँदै उनले आगामी महिनादेखि पुनः वडाहरुमै खोप सञ्चालन गरिने उल्लेख गरेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !