
रासस
पर्सा, बैशाख
पर्साको जिल्ला अस्पताल पोखरियाको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजिङ बुथ स्थापना गरिएको छ । समाजवादी पार्टीका नेता निजामुद्दिन समानीको पहलमा समाजसेवी तारादेवी सरावगी र मुकेश सरावगीले सो बुथ स्थापना गर्नुभएको हो ।
पोखरिया अस्पतालमा उपचार गराउन आउनेहरुलाई स्यानिटाइज (विसङ्क्रमित) गरेर अस्पतालभित्र प्रवेश गराउने उद्देश्यले सो बुथ स्थापना गरेको समाजसेवी सरावगीले बताए ।
अस्पताल भवनको प्रवेशद्वारमा स्थापना गरिएको सो बुथबाट एक व्यक्ति २० सेकेन्डमा स्यानिटाइज (विसङ्क्रमित) हुने उनले बताए ।उक्त बुथको प्रदेशसभा सदस्य प्रह्लाद गिरीले शनिबार शुभारम्भ गरेर पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य गिरीले समाजसेवी सरावगीले गरेको यो कार्य प्रशंसनीय रहेको बताउँदै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेता समानीले स्यानिटाइजर बुथले अस्पतालमा कोरोनाको सङ्क्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउँदै यसको संरक्षणमा अस्पतालले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सांसद हरिनारायण रौनियार, पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन र समाजसेवीद्वय सरावगीको सहभागिता थियो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !