द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख ८ । अनिता देवी सोनार उमेरले ५० वसन्त पार गरि सकेकी छिन् । यद्यपि काममा अझै फूर्तिला छिन् । तर नेपाल नै लकडाउन भएपछि काम विहिन छन् । काम नपाएपछि उनलाई जिविका चलाउन एकदमै गाह्रो भएको छ । घरमा श्रीमान, उनी सहित ५ जनाको परिवार छ । तर लकडाउनका कारण परिवारको दुई छाक खानका लागि समेत कठिनाई भई रहेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहिया कि अनितालाई सरकारले अहिलेसम्म राहत उपलब्ध नगराएकोमा दुखेसो पोखिन । उनले भनिन् ‘हम सभ उपरेबलाके भरोसे बाचल छी, सभसँ माँगि चाँगि कऽ खाइत छी ।’ अर्थात हामी भगवानकै भरोसामा बाँचेको छु, गाउँकै अन्य व्यक्तिहरुसंग माँगेर खाने गरेको छु । अनिताको श्रीमान दैनिक ज्यालादारीमा काम गरेर आएपछि मात्रै दुई छाकको व्यवस्था हुन्थ्यो । तर लकडाउनमा कुनै पनि तहको सरकारले उनीहरुलाई राहत उपलब्ध नगराएपछि भोक भोकै दिन कटाउनुपर्ने बाध्यता रहेको छ ।

बसहियामा अनिता जस्तै अन्य कयो परिवार यस्ता छन् जो अहिलेसम्म राहत पाएका छैनन् । उनीभन्दा पनि बढी पीडामा ३५ वर्षिया रीना देवीको रहेको छ । घरमा ५ छोरी र उनी आफै छिन् श्रीमानको पत्तो छैन । त्यसमा पनि दुई छोरी बोल्न नसक्ने छिन् । श्रीमान विश्वनाथ दास कामकै लागि २०७२ सालमा आएको भूकम्प अगाडी काठमाडौँ गएपछि उनको अत्तो पत्तो छैन । श्रीमानको अत्तो पत्तो नै नभएपछि ५ छोरीको पालन पोषण गर्ने जिम्मा पनि उनकै काँधमा छ । रीना भन्छिन् ‘दिन खाए राती के खाने चिन्ता अन्य दिनमा पनि हुुन्थ्यो, तर अहिले आएर लकडाउन भएपछि झनै समस्या भएको छ ।’ अगाडी भनिन् ‘भएको घर पनि एलानी जग्गामा छ, त्यो पनि वैदेशिक रोजगारीमा रहेकाहरुले सामाजिक सञ्जालमा मेरो पीडा देखेपछि ८३ हजार रुपैया घर बनाउनका लागि सहयोग गरेका थिए, अनि मात्रै घर बनाउन पाएँ ।’

बसहियाकै भोला कर्ण जिल्ला प्रशासन कार्यालय धनुषामा लेखपढीको काम गर्दै आई रहेका थियो । परिवारको आवश्यक्ता राम्ररी नै पुर्ती गरिरहेका थिए । तर त्यहाँ बाहिर बस्ने लेखापढी गर्नेहलाई हटाइएपछि उनी एकाएक बेरोजगार भए । केही महिना बिना कामकै बसे । तर बिना काम परिवार चल्दैन सोेचेर आफूले जोहो गरेर राखेको १ लाख रुपैयाँ र रोेयल्स बैंकबाट ऋण लिएर ई रिक्सा किने । गत कार्तिक महिनामा ई रिक्सा किनेका भोलाको परिवार राम्ररी नै चलि रहेको थियो । तर कोरोना भाइरसको संक्रमणको त्रासका बिच भएको लकडाउनका कारण त्यतीकै बिनाको कामको बसेका छन् । घरमा खाने चामल छैन न दाल नै । राहतसम्म उनले पाएका छैनन् । यसरी राहत नपाउँदा उनको पूरै परिवार विचल्लीमा परेको छ । यिनीहरु प्रतिनिधिमूुलक पात्र मात्रै हुन् । बसहियामै यस्ता कयौँ परिवार छन् जो भोक भोकै दिन कटाउन बाध्य भएका छन् । प्रदेश सरकार र स्थानीय सरकार अहिले सम्म घोषणा गर्न तथा लगत संकलन गर्न बाहेक केही गर्न नसकेको स्थानीयहरुको गुनासो छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !