एजेन्सी बंगलादेश, वैशाख ८ । बंगलादेशमा शनिबार एक मुस्लिम धर्मगुरुको अन्त्येष्टिमा जारी लकडाउनको अवज्ञा गर्दै एक लाख बढी मानिसहरू सहभागी भएको बंगलादेशी अधिकारीहरूले जनाएका छन्।यसले कोरोना भाइरसको जोखिम बढाउन सक्ने अनुमान गरिएको छ।बंगलादेशी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी संचारमाध्यम सिएनएनले ती मानिसहरू ब्राह्मणबरिया जिल्लाको सोरैल उप-जिल्ला अन्तर्गत बेर्तोला गाउँको मदरासामा आयोजना गरिएको खिलाफत मजलिसको नायब-ए अमीरु मौलाना जुबअर अहमद अन्सारीको अन्त्येष्टी सहभागी भएका जनाएको छ।
सिनएनएनले आफ्नो समाचारमा बंगलादेशी प्रधानमन्त्रीका विशेष सहयोगी शाह अलि फरहाद र सो जिल्लाका प्रहरी प्रवक्ता इम्तियाज अहमदले यो संख्याको पुष्टि गरेको आफ्नो समाचारमा उल्लेख गरेको छ।हाल निर्वासनमा रहेकी चर्चित बंगलादेशी लेखिका तसलिमा नसरिनले पनि ट्वीट गर्दै ५० हजार बढीको संख्यामा मानिसहरू सो अन्त्येष्टिमा सहभागी भएको जनाएकी छन्।ती धर्मगुरुको शुक्रबार राती घरमा मृत्यु भएको थियो।बंगलादेशले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पाँच जना भन्दा बढी मान्छे एकसाथ भेला हुन नपाउने नियम लागु गरेको भएपनि सो नियमलाई उल्लघंन गर्दै मानिसहरू सो अन्त्यष्टिमा सहभागी भएका हुन्।सहभागीको संख्या धेरै भएपछि प्रहरीले उनीहरूलाई नरोकेको बताएको छ। कोरोनाको खतराबिच यतिधेरै मानिसहरु कसरी जम्मा भए भन्ने बारेमा अनुसन्धान गरिने बंगलादेशी अधिकारीहरूले जनाएका छन्। बंगलादेशमा हालसम्म २ हजार ४ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९१ जनाको ज्यान गइसकेको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !