एजेन्सी वुहान, वैशाख ८ । चीनले कोरोना भाइरसको उद्गमस्थल वुहानलाई भाइरसको कम जोखिमयूक्त क्षेत्र घोषणा गरेको छ।चीनको स्टेट काउन्सिलले जारी गरेको जोखिम मापदण्ड अनुसार पछिल्लो १४ दिनमा कुनै राज्य वा प्रदेशमा नयाँ कोरोना भाइरस नदेखिएमा सो क्षेत्र कम जोखिम क्षेत्रमा पर्छ।लकडाउन हटाएको १२ दिनपछि वुहान शहरलाई कम जोखिम भएको क्षेत्रमा राखिएको हो।
सो मापदण्ड अनुसार ५० वा सो भन्दा बढी संक्रमित केस भएको तर प्रकोपको जोखिम नभएको क्षेत्रलाई मध्य जोखिम क्षेत्र र ५० भन्दा बढी केस देखिएको र प्रकोपको जोखिम भएको क्षेत्रलाई उच्च जोखिमपूर्ण क्षेत्रका रुपमा परिभाषित गरिएको छ।चीनमा शनिबारसम्म ८२ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।यसैगरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ।चीनमा शनिबार लक्षण नदेखिएका ४४ जना संक्रमित भेटिएका छन्। योसँगै लक्षण नदेखिएका संक्रमितको संख्या ९ सय ९९ पुगेको छ। जसमा १ सय ८५ आयातित संक्रमित रहेका छन्। उनीहरुको उपचार जारी छ।गत वर्ष डिसेम्बरमा वुहानमा पहिलो पटक कोरोना भाइरस देखापरेको थियो।
यो विषयमा टिप्पणी गर्नुहोस् !