द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख ६ । कोरोना भाइरसको त्रासका बिच नेपाल लकडाउन भएको २६ दिन भई सकेको छ । यी २६ दिनमा कतिले जागिर गुमाए, कतिको खाने ठेगान छैन । दैनिक ज्यालादारीमा काम गर्नेहरुको त विजोग नै भएको छ । कतिलाई भोक भोकै दिन कटाउनु पर्ने बाध्यता समेत रहेको छ । भोक भोकै दिन कटाई रहेका त्यस्ता नागरिकका लागि तीनै तहका सरकारले पनि खासै केही गर्न नसकेको जनताका गुनासाहरु छन् ।जनताको यी गुनासोको बिच यस्ता व्यक्तिहरु पनि छन् जो खाना बिना भोक भोकै दिन काटी रहेका व्यक्तिहरुको भोक मेट्ने काममा लागेका छन् । धनुषाको १८ वटै पालिकाले आफ्नो जनताका लागि राहतसम्म वितरण गर्न नसकेको अवस्थामा जनकपुरधामका स्थानीय प्रकाश मिश्रले आफ्नो व्यक्तिगत खर्च बाट खाना बिना छटपटाई रहेका व्यक्तिहरुका लागि विगत केही दिन यता निःशुल्क भोजनको व्यवस्था गर्दै आई रहेका छन् । जनकपुरधाममै होटेल बाबाको ढावा चलाउँदै आई रहेका प्रकाश मिश्रले विगत ८ दिनदेखि निःशुल्क रुपमा भोजन उपलब्ध गराउँदै आई रहेका छन् । उनले गत ७ दिनदेखि शाकाहारी भोजन उपलब्ध गराउँदै आई रहेका थिए । तर शनिबार मिश्रले दैनिक ज्यालादारीमा काम गर्ने, गरिब दलित तथा विपन्नहरुलाई निःशुल्क मासु भात, तरकार, चटनी भोजनमा उपलब्ध गराएका छन् ।

लकडाउनका कारण गरिबहरुलाई भोकै दिन कटाउनु पर्ने अवस्था देखेपछि आफ्नो मनमा त्यस्ता व्यक्तिहरुलाई भोजन उपलब्ध गराउने सोच पलाएको मिश्रले बताए । उनी दैनिक रामानन्द चोकमा यसको व्यवस्थापन गर्दै आई रहेका छन् । यस अघि मिश्रले सामाजिक सञ्जालमै आफ्नो मोबाइल नम्बर राखेका थिए । उनको मोबाइलमा कल गर्ने व्यक्तिहरुको घरमै भोजन समेत पुर्याउने व्यवस्था गरेका छन् । त्यसका लागि दुई जना भोलेन्टियर राखेका छन् । घर घरमै प्याक गरेर भोजन उपलब्ध गराउने व्यवस्था गरेपछि स्थानीय मिश्रको प्रशंसा गर्न थाकि रहेका छैनन् । जनकपुरधाम उपमहानगरपालकाले आफू जस्तो निमूखा जनताका लागि राहतसम्मको व्यवस्था गर्न नसकेको अवस्था मिश्रले लगाएको गुण आफूहरु नबिर्सिने एक स्थानीयले बताए ।
भोजन उपलब्ध गराउँदै आएका मिश्रले भने ‘रुपैया त कमाउनु छँदैछ अहिलेको विषम परस्थितिमा भोको पेट रहेकाललाई सहयोग गर्नु नै ठूलो धर्म रहेको मलाई लाग्छ ।’ उनले अगाडी भने ‘एकजना बालिकालाई आफ्नो आमालाई आम मासु मासु भन्दै सुने त्यसपछि मैले मासु भात पनि खुवाउनु पर्छ सोचे ।’खाना खाने लाममा अछामबाट इलेक्टिकल इन्जिनियरिंग पढ्दै आएका दुुई युवा पनि थिए । अछामबाट स्कलरसिपमा इलेक्टिकल इन्जिनियरिंग पढ्न आएका प्रकाश नेपालीले प्रकाश मिश्र जस्तै दानीहरुका कारण हामी लकडाउन जस्तो विषम परस्थितिमा गुजारा गर्न सकि रहेका छौँ । नेपालीले भने ‘हामीलाई खाना कसरी खाउँ चिन्ता थियो त्यसमाथी घर भाडाको प्रकाशजीले घर भाडा पनि बुझाई दिने आश्वासन दिनु भएको छ ।’अर्का विद्यार्थी एकराज ओडले भने ‘लकडाउनका कारण हामीसंग रहेको पकेट खर्च पनि सिद्धि सकेको छ, घरबेटीले घर भाडाका लागि हैरान पारी सके यहाँ खाना कहाँ खाउँ चिन्ताले पिरोली रहेको थियो ।’ तर प्रकाश मिश्रजीको सम्पर्कमा आएपछि हाम्रो चिन्ता दुर भएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !