सप्तरी, बैशाख ५ । सप्तरीको पर्यटकीय एवं धार्मिक क्षेत्र शम्भुनाथ मन्दिरमा लाग्ने एक महिने मेला सुनसान देखिएको छ । नयाँ वर्ष २०७७ मा लाग्ने उक्त मेला विश्वभर फैलिएको कोरोना भाइरसका कारण स्थगित गरिएपछि सुनसान देखिएको हो ।कोरोना भाइरसको प्रभावलाई नियन्त्रण गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनका कारण मेला स्थगित गरिएको शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्रप्रसाद चौधरीले जानकारी दिए । नयाँ वर्ष शुरु भएसँगै शम्भुनाथ मन्दिरमा वैशाख १ गतेदेखि यहाँ एक महिने मेला लाग्ने गरेको छ । पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको नगरपालिकाको दक्षिणतिर अवस्थित मन्दिर परिसरमा लाखौँ दर्शनार्थीहरुको भिड लाग्ने गरेको थियो ।
सरकारले कोरोना भाइरसका कारण समाजिक दूरी कायम गर्न लकडाउन घोषणा गरेपछि सबैजना अहिले घरमै बसेका हुनाले समेत शम्भुनाथमा लाग्ने मेला सुनसान भएको नगरप्रमुख चौधरीले बताए । मेला हेर्न नेपालका मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा र भारतको बिहार राज्यको सुपोल जिल्लाबाट लाखौँको सङ्ख्यामा भक्तजन आउने गर्थे । मन्दिरभित्र रहेको कालो पत्थरको शिवलिङ्गलाई भक्तजनहरुले पूजाआजा गर्छन् । एक फिटभन्दा पनि कम आकारमा भेटिएको उक्त शिवलिङ्गको लम्बाइ अहिले चार फिटभन्दा बढी पुगेको छ ।
सप्तरीमा १५औँ शताब्दीमा चन्द्रकेतु नामका राजा थिए । यिनै राजाले जिल्लाको उत्तरपूर्वमा राजमार्ग नजिक पर्ने धर्मपुर गाउँदेखि करिब पाँच किलोमिटर उत्तर चुरे पर्वतमाथि उनकी कुलदेवी चन्द्रभागा भगवतीको स्थापना गरेका थिए भन्ने विश्वास गरिन्छ । उक्त मन्दिरको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । यसै मन्दिरको एउटा स्तम्भलाई शम्भुनाथ भनी पूजा गर्ने चलन छ । कसैलाई चर्मरोग भएको अवस्थामा त्यहाँ भाकल गरेपछि चर्मरोग आफैँ हराएर जान्छ भन्ने विश्वास गरिन्छ ।
मानव अधिकार अनुगमन समिति गठन
कोभिड-१९ को सन्दर्भमा मानवअधिकारको अवस्था अनुगमन गर्न पाँच सदस्यीय जिल्लास्तरीय अनुगमन समिति गठन गरिएको छ । बिहीबार राजविराजमा सम्पन्न बैठकले नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको हो ।कोभिड-१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानवअधिकारको अवस्था अनुगमन गर्न गठित उक्त समितिमा नेपाल बार एशोसियसन र गैरसरकारी संस्था महासङ्घका प्रतिनिधि रहेका छन् । राष्ट्रिय मानवअधिकार आयोगको मानवअधिकार अवस्था अनुगमन नेटवर्कको कार्यविधिअनुसार अनुगमन समिति गठन गरिएको संयोजक खड्गाले जानकारी दिए ।
परिवारलाई राहत वितरण
लकडाउनबाट प्रभावित सप्तरीको राजगढ गाउँपालिका र राजविराज नगरपालिकाका ७३ अतिविपन्न परिवारलाई बिहीबार राहत वितरण गरिएको छ । राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजविराजले गाउँपालिका-४ बेल्हीचेपनाका २४, वडा नं ५ मलेकपुरका ३४ तथा राजविराजका १५ गरी ७३ अतिविपन्न परिवारलाई राजपाका सहमहासचिव गजेन्द्रकुमार मण्डलको सहयोग तथा संस्थाको सहकार्यमा राहत वितरण गरिएको हो ।लकडाउनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतिपरिवार पाँच केजी चामल, एक केजी दाल, एक पाकेट नुन, एक लिटर खाने तेल एक, २०० ग्राम स्वायबिन गरी पाँच दिनका लागि पुग्ने खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष वीरेन्द्र मण्डलले जानकारी दिए ।कञ्चनरुप नगरपालिकामा पनि राहत वितरण गर्न रु ५८ लाख एक हजार रकम विनियोजन गर्ने निर्णय भएको छ । कार्यपालिकाको बैठकले राहत वितरण गर्नका लागि प्रत्येक वडालाई रु चार लाख र विपन्नको सङ्ख्याका आधारमा थप रकम गरेर बजेट विनियोजन गरिएको प्रवक्ता राजकुमार साहले जानकारी दिए ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !