द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख ४ । जिल्ला विपद् व्यवस्थापन समिति, धनुषाले लकडाउनमा पसल सञ्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । पसल सञ्चालन गरिँदा लकडाउन उल्लंघन भएको भन्दै प्रशासनले निर्णय सच्याएको हो । प्रशासनले बिहीबार लकडाउन कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएको छ । प्रशासनले बिहीबार जारी गरेको निर्देशनमा औषधि तथा स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योग बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखाना सञ्चालनमा रोक लगाइएको छ ।
यसअघि मंगलबार बसेको समितिको बैठकले बिहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म दैनिक उपभोग्य वस्तु, औषधि, दुध, पानी, इन्धन लगायतका पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।जसका कारण बुधबार जनकपुरमा सर्वसाधारणको आवतजावतसँगै सवारी साधन पनि निर्वाध रूपमा गुडेका थिए । बिहीबार बिहान जानकी मन्दिर वरिपरि तरकारी किन्नेको घुइँचो लागेको थियो । पसल सञ्चालन गरिँदा भिडभाड बढेको भन्दै उक्त निर्णयको स्थानीयले विरोध समेत जनाएका थिए ।यसअघि समितिले खाद्यान्न पसल बिहान ५ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरे पनि प्रशासनको पछिल्लो निर्देशनमा यसबारे केही उल्लेख गरिएको छैन ।
प्रशासनले व्यवसायीलाई औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्नुका साथै कालोबजारी गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।प्रशासनले औषधि उपचार, खाद्यय वस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिगत काममा बाहिर ननिस्कन निर्देशन जारी गरेको छ ।यसैगरी जथाभावी हिँड्ने सवारी साधनमाथि पनि रोक लगाइएको छ ।अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।‘लकडाउन’ अवहेलना गर्ने वा काममा बाधा पुर्याउनेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !