जनकपुधाम, साउन १ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बँच्न अहिले नेपालमा पनि खोप अभियान सञ्चालन गरिएको छ । नेपाल सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान माघ १४ गते देखि नै सञ्चालन गरेपनि प्रदेश २ मा खोप अभियान प्रभावकारी हुन सकेको छैन् ।
खोप अभियान सञ्चालन गरेयता यस प्रदेशमा ३ लाख ९२ हजार ५ सय ९० जनाले खोप लिएपनि ७८ हजार ६ सय २८ जनाले मात्र खोपको दुवै डोज लगाउन सकेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ । यस प्रदेशमा कोभिशिल्ड खोपको दुवै डोज ४२ हजार ६ सय २५ जना र भेरोसेलको दुवै डोज ३६ हजार ३ जनाले मात्र लगाउन पाएका छन् । भारत सरकारले कोभिशिल्ड भ्याक्सिनको निर्यात बन्द गरेकाले पहिलो डोज लगाउनेहरु अन्यौलमा रहेका छन् । पहिलो डोज लगाएपश्चात दोस्रो डोज निर्धारित समयमा लगाउनुपर्ने रहेपनि सरकारले भ्याक्सिनको उपलब्ध गराउन नसक्दा पहिलो डोज व्यर्थ जाने देखिएको छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले अन्य देशहरुबाट कोभिशिल्ड भ्याक्सिन ल्याउने प्रयास भइरहेकोले समयमा आए कोभिशिल्ड नै दिइने नत्र विकल्प खोजीने बताए । उनले भने, ‘निर्धारित समयमा दोस्रो डोज लगाइएन भने भेरोसेलकै भ्याक्सिन सुुरु देखि नै लगाउनु पर्छ । हामी माथिको निर्देशनको पर्खाईमा छौँ ।’
प्रदेशमा कोभिशिल्डको पहिलो डोज ३ लाख १९ हजार ६ सय ५ जनाले लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकारी सरोज कुमार यादवले जानकारी दिए । त्यस्तै भेरोसेलको पहिलो डोज ७२ हजार ९ सय ८५ जनाले लगाएका छन् ।
कोभिशिल्ड भ्याक्सिन लगाउने अधिकांश वृद्ध रहेका छन् । फागुन २३ गते देखि २७ गते सम्ममा ६५ वर्षभन्दा माथीका २ लाख ६६ हजार ३ सय ५७ जनाले खोप लगाएका थिए तर दोस्रो डोज नभएकोले तिनीहरु अहिलेसम्म भ्याक्सिनको दोस्रो डोज लगाउन सकेका छैनन् ।
कुन जिल्लामा कतिजनाले लगाए भ्याक्सिन ?
सप्तरीमा ४२ हजार १ सय ५६ जनाले पहिलो र ५ हजार ८ सय ८६ जनाले कोभिशिल्डको दोस्रो डोज लगाएका छन् भने भेरोसेलको १० हजार २० जनाले पहिलो र २ हजार ३५ जनाले दुवै डोज लगाएका छन् ।
त्यस्तै सिरहामा कोभिशिल्डको ४० हजार ३ सय ८४ जनाले पहिलो र ४ हजार ४ सय ८ जनाले दुवै डोज लगाएका छन् । भेरोसेलको ९ हजार ७ सय ५६ जनाले पहिलो र ६ हजार ६ सय ७७ जनाले दुवै डोज लगाएका छन् ।
धनुषामा ४१ हजार ४ सय ७० जनाले कोभिशिल्डको पहिलो र ९ हजार १ सय ५८ जनाले दुबै डोज लगाएका छन् । भेरोसेलको भ्याक्सिन १३ हजार ४ सय ८७ जनाले पहिलो र १० हजार ६ सय २७ जनाले दुबै डोज लगाएका छन् ।
महोत्तरीमा ३३ हजार २ सय ५० जनाले कोभिशिल्डको पहिलो र ४ हजार ५ सय ९९ जनाले दुबै डोज लिएका छन् । भेरोसेलको ८ हजार ४४ जनाले पहिलो र ५ हजार २१ जनाले दुबै डोज लिएका छन् ।
सर्लाहीमा ५७ हजार ९२ जनाले कोभिशिल्डको पहिलो डोज र ३ हजार ७ सय २७ जनाले दुबै डोज लिएको तथा भेरोसेलको ११ हजार १ सय ८९ जनाले पहिलो र २ हजार ५६ जनाले दुबै डोज लिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकोब छ ।
रौतहटमा ३३ हजार २ सय ५७ जनाले कोभिशिल्डको पहिलो डोज लगाउँदा ३ हजार ६ सय २१ जनाले मात्र दोस्रो डोज लगाउन सकेका छन् । भेरोसेलको ५ हजार ७ सय ३४ जनाले खोप लगाउँदा ५ हजार ८६ जनाले दुबै डोज लगाएका छन् ।
बारामा ३३ हजार १५ जनाले पहिलो डोज लगाउँदा ४ हजार ३ सय ९६ जनाले मात्र कोभिशिल्डको दोस्रो डोज लगाउन सकेका छन् । भेरोसेलको ८ हजार ७ सय ८० जनाले लगाउँदा २ हजार ४ सय ८१ जनाले दोस्रो डोज लगाउन सकेका छन् ।
पर्सामा कोभिशिल्डको ३८ हजार ७ सय ८१ जनाले भ्याक्सिन लगाउँदा ७ हजार ५ सय ३४ जनाले मात्र दुबै डोज लगाउन सकेका छन् । भेरोसेलको ५ हजार ९ सय ७५ जनाले लगाउँदा २ हजार २० जनाले दोस्रो डोज समेत लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !