द सौर्य मिथिला समाचारदाता

सर्लाही, चैत २९ । बन्दाबन्दीको उल्लंघन गर्दै हरिपुर नगरपालिका १ हरिहरमाई क्षेत्रमा एक महिनादेखि धार्मिक मेला लागेको छ । गत फागुनको अन्तिम सातादेखि शुरु भएको मेला अहिले पनि जारी छ । मेलामा दैनिक सयभन्दा बढी भक्तजन आउने गरेका छन् । नागाबाबालाई हेर्न र दर्शन गर्न वरिपरि गाउँबाट दैनिक सयौँ भक्तजन आउने गरेको स्थानीयवासी दुखा मण्डलले बताए । मध्याह्न १२ बजे चर्को घाममा नागाबाबा एक महिनादेखि यज्ञसहित पञ्चधुनी तापेर बस्ने गरेका छन् । उनलाई दर्शन गर्दा इच्छाशक्ति प्राप्ति हुने र पाप नाश हुने भक्तजनको विश्वास छ । स्थानीय प्रशासनले पटकपटक यज्ञ रोक्न आग्रह गर्दासमेत नमानेपछि बुधबार राति इलाका प्रहरी कार्यालय मुर्तियाले डिजे र माइक जफत गरेको थिए ।
धार्मिक यज्ञमा धेरै मानिस एकैपटक जमघट हुँदा कोरोना भाइरसको संक्रमण हुने आशङ्काले स्थानीयवासी चिन्तित छन् । भीडभाडका कारण कोरोना संक्रमणको जोखिम उच्च रहेकाले धार्मिक मेला र यज्ञ स्थगन गर्नुपर्ने उनीहरुको माग छ । मेलास्थल राष्ट्रिय वन भएकाले अतिक्रमण गरी मेला लगाउन नहुने भनी एक पटक मेला हटाइएको सब डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत सुवासचन्द्र साहले बताए। सरकारले जारी गरेको लकडाउन बेवास्ता गरी यज्ञ भने लागिरहेको छ ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !