द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, चैत २८ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रदेश दुईमा कोरोना परिक्षण सुस्त गतिमा हुँदा चौतर्फी आलोचना हुँदै आई रहेको थियो । सरकारले र्यापिड परिक्षणका लागि किट पठाएपछि प्रदेश दुईमा समेत तीव्र परीक्षण र्यापिड टेस्ट शुरु भएको छ । र्यापिड टेस्टपछि कोरोना संक्रमितको पहिचान गर्ने प्रक्रियामा तीव्रता आउने विश्वास गरिएको छ । यसअघि पीसीआर मेसिनबाट मात्र परीक्षण हुँदा ढिलाइ हुँदै आई रहेको थियो । संघीय सरकारले प्रदेश दुईमा ५ हजार थान र्यापिड किट उपलब्ध गराएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको आपूर्ति महाशाखाका निर्देशक डा।प्रमोद यादवले जानकारी दिएका छन् ।संघीय सरकारले पाँच हजार थान र्यापिड किट उपलब्ध गराएको छ, क्वारेन्टाइन स्थापना गरिएको सबै स्थानमा हामी पठाउँदै छौं,’ डा। यादवले भने, ‘वीरगन्ज र कलैयामा परीक्षण सुरु भइसकेको छ । आजै प्रदेशस्थित सबै स्थानमा किट पुग्नेछ ।’
र्यापिड किटमार्फत गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट देखिए कन्र्फमेसनका लागि स्वाब पीसीआरमा पठाइने उनको भनाइ छ । शंकास्पद व्यक्तिको रगत लिएर परीक्षण गर्ने र्यापिड टेस्टले तत्काल परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्ने कार्यले तीव्रता पाउने डा।यादवले बताए ।प्रदेश दुईमा अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा जडान गरिएको एकमात्र पीसीआर मेसिनबाट शंकास्पद व्यक्तिको स्वाब परीक्षण भइरहेको छ । मेसिन जडान भएको एक साताभन्दा बढी भइसके पनि प्रादेशिक अस्पताल जनकपुरले ३८ जनाको मात्र स्वाब परीक्षण गर्न सकेको छ । प्रदेश दुईमा लगभग २ हजार व्यक्ति क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेसनमा छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !