द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २७ । धनुषाको सबैला नगरपालिका वडा नम्बर–८ ठिल्लाका २३ बर्षिय नासिर राईन गत चैत ७ गते (मार्च २० तारिख) का दिन कतारबाट घर फर्के । उनी घर आउनेवित्तिकै गाउँलेको आग्रहलाई स्वीकार्दै आफ्नै गाउँमा रहेको क्वारेन्टाइनमा भर्ना भए । क्वारेन्टाइनको बसाईपश्चात स्वास्थ्यकर्मीको सल्लाह अनुसार उनलाई १६ औं दिनमा परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइयो । तत्काल उनलाई थ्रोट स्वाब परिक्षणका लागि प्रादेशिक अस्पतालमा रहेको आइसोलेशन बेडमा भर्ना गरियो । उनलाई त्यहाँ चेकजाँचका लागि दुई दिन बस्नुपर्ने भनेर चिकित्सकले सुझाए । चिकित्सकको सुझावलाई आत्मसात गर्दै उनी आइसोलेशन बेडमा भर्ना भए । तर आइसोलेशनमा भर्ना भएपछि आफु यहाँ उपचारका गराउन आएको हुँ की झन रोगलाई निम्त्याउन सोच्न बाध्य बनायो,‘उनले भने । नासिरको खल्लो अनुभवनासिरले आइसोलेसनमा बिताएका आफ्नो कष्टपूर्ण समयलाई सामाजिक सञ्जालमा समेत शेयर गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेको अनुभव जस्ताकोे त्यस्तै ।
म जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा परिक्षणका लागि पुग्दा ५० रुपैयाँको रसिद कटाउनु पर्यो । मेरो जाँच सकिएपछि त्यो आइसोलेसनको अवस्था एकदमै दयनिय देखे । त्यसपछि मैले अनुरोध गरेँ मलाई कुनै अन्य क्वारेण्टाइनमा राखि दिनुस । मैले अनुरोध गरेपछि त्यहीँ रहेको एक कर्मचारीले मलाई हप्काउँदै भने साले यहीँ बस नभए हात खुटा तोडेर यहीँ बस्न लगाउउनुँछु, जस्तो छ त्यस्तैमा बस । त्यस पछि मलाई आइसोलेसन कक्षमा लगेर छोडि दियो । म माथिको आइसोलेसन कक्षमा पुग्दा देखेँ एउटै कोठामा ७ वटा बेड थियो । १५ जनाभन्दा बढी व्यक्तिको लागि एउटै बाथरुम । त्यो पनि एकदमै फोहोर थियो । मलाई जुन बेडमा राखियो त्यो बेडमा अन्य बिरामीलाई राखिएको थियो । त्यो बेडलाई सफा नै नगरी मलाई त्यहीँ बस्न लगाइयो । त्यो बेडको बेडसिट एकदमै फोहोर थियो, फोहोर मात्रै होइन रगतको दाग पनि थियो । सिरानी, झल आदि केही दिइएन । मेरो आफन्तले ती समानहरु उपलब्ध गराउन चाहँदा समेत उपलब्ध गराउन दिइएन । मैले अनुरोध गरेपछि जस्तो छ त्यस्तैमा बस नभए पुलिस लगाएर कुट्न लगाउँछु भन्दै हप्काए ।

साबुन सेनिटाइजर, खानेपानी केहीको व्यस्था थिएन । खानेपानीको यस्तो हाहाकार थियो कि केही बिरामी पानीका लागि चिच्याई रहेका थिए तर पानी दिने कोही थिएन । पानीको लागि आफ्नै पैसा दिन्छु भन्दा पनि गाली गर्थे । पिउनलाई दिनभरीमा दुई पटक दिइन्थ्यो । एक पटक दिनमा र एक पकट राती मात्रै खानलाई दिइन्थ्यो । खाना पनि यस्तो कि खानै नसक्ने थियो । हामी त्स्तो खाना देखेर भोकै बस्नु पथ्र्यो । नास्तामा आधा कप चिया र तीन वटा बिस्कुट दिइन्थ्यो । मेरै कोठाबाट ३ जना बिरामीलाई डिस्चार्ज गरियो । राति सोही फोहोर कोठामा म लगायत दुई पुरुष र एक महिलालाई बस्न लगाइयो । बाथरुममा कुनै कुनै बेला पानी नै आउँदैन थियो । पूरै बाथरुममा फोहोर पानी जम्मा थियो । त्यहाँ बिरामी तथा निको दूबै व्यक्तिलाई एकै साथ राखिन्थ्यो । यदि कुुनै बिरामीलाई त्यहाँबाट लगिन्थ्यो भने ३ घण्टापछि सोही बेडमा सफा नै नगरी राखिन्थ्यो । बाथरुम दुई दिनमा एक पटक पनि सफाई गरिएन । मलाई डिस्चार्ज गर्दा केही न भनी अस्पताल अगाडीको सडकमा छोडियो । मलाई जससरी जान्छस जा भन्दै छोेडेर गए ।
प्रादेशिक अस्पतालको आइसोलेसनमा मानिस झैँ नभई जनावर झै राखिएको हुन्छ । त्यहाँ निको रहेको व्यक्ति पनि बिरामी पर्ने खतरा छ । म यति मात्रै अनुरोध गर्न चाहन्छु आइसोलेसनको अवस्था सुधार गरेर मात्रै त्यहाँ बिरामीलाई बसाउन लगाउउनुस । नभए घरमै बसाउन लगाएर उचित जनचेतना जगाउने कार्य गर्नुस । रोगबाट बच्ने उपाय सिकाउनुस । मलाई गाली गर्ने कर्मचारीलाई बदल्न लगाउनुस । प्रादेशिक अस्पतालको सबै फोटो मैले खिचेर ल्याएको छु ।
यो विषयमा टिप्पणी गर्नुहोस् !