द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २६ । कोरोना बिरुद्धको लडाईमा पूरै विश्वको संघर्ष जारी छ । नेपालमा पनि कोरोनाको संक्रमण बढ्न सक्ने खतरा बढेपछि सबै तहका सरकारले आ–आफ्नो स्तरबाट तयारी गर्नमा लागेको छ । तर प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा स्थानीय सरकारबाट कुनै पनि प्रकारको तयारी गरेको पाइदैन । नगरप्रमुख लालकिशोर साह अहिले पनि सस्तो लोकप्रियता कमाउनमै व्यस्त छन् । यता प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाम उपमहानगरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि केहि गर्न नसकेको बेला एक वडाध्यक्षले आफ्नो वडावासीको स्वास्थ्य अवस्थाप्रति गम्भिर सतर्कता देखाउँदै क्वारेन्टाइन भवन संचालनमा ल्याएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो जनताको स्वास्थ्य सेवा देखि अत्यावश्यक राहत सामग्री सेवाहरु समेत वितरण गर्न नसकेको अवस्था जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष जानकीराम साहले भने आफ्नो वडामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडामा रहेको समुदायिक विद्यालयमा नै क्वारेन्टाइन भवनको स्थापना गरेका हुन् । सो वडामा रहेको रामजानकी आधारभुत विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइन भवनमा ८ वटा बेडको व्यवस्था गरि संचालनमा ल्याइएको छ ।जनकपुरधाम वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले वडास्तरबाटै क्वारेन्टाइनको सम्पूर्ण तयारी पुरा गरेका हौँ, यसका लागि हामीसंग चेकजाँचका लागि आवश्यक उपकरण, सुरक्षा सामग्रीको अभाव रहेता पनि यसलाई पुरा गर्न प्रदेश सरकारलाई तत्काल पत्राचार गरी आवश्यक उपकरण माँग गर्ने बताए ।

उनले क्वारेण्टाइन लगायतको अन्य सुविधाका लागि नगर प्रमुख साहसंग पटक पटक आग्रह गर्दा समेत उनले चासो नदेखाएको आरोप लगाए । वडाध्यक्ष जानकीरामले अचेल नगरप्रमुख साह फोनै उठाउन छोडेको बताउउँछन् । नगरबाट कुनै प्रकारको सहयोग नपाउने भएपछि आफूले आफ्नो वडाको वासीको सुरक्षाका लागि आफ्नै स्तरबाट क्वारेण्टाइन स्थापना गरेको वडाध्यक्ष जानकी रामले बताए । धनुषाको १८ वटा स्थानीय तह मध्ये १७ स्थानीय तहले क्वारेन्टाइन बनाएपनि जनकपुरधाम उपमहानगरले ठाउँको अभाव देखाउदैँ अहिलेसम्म क्वारेन्टाइन बनाउने चाजोपाजो समेत गरेको छैन । नगरप्रमुख लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला सहितको टोली जनकपुरधाम वडा नम्बर १४ स्थित मुजेलीयामा बन्द रहेको मणिपाल शिक्षण अस्पताललाई क्वारेन्टाइन बनाउन अनुगमन सहित निरीक्षण गरेको थियो । तर त्यहाँ क्वारेन्टाइन बनाउनका लागि आर्थिक लगानी लगाउनुपर्ने भएकोले आन्तरिक कुरा नमिल्दा काम नै गरेनन् ।
जनकपुरधाम उमहानगरपालिकाका उपप्रमुख रिता झाले जनकपुरधाममै पर्ने मुजेलीया, बसहिया लगायतका विभिन्न ठाउँमा क्वारेन्टाइन निर्माणको विरोध भएको भन्दै निर्माण कार्य नहुन सकेको बताइन् ।
जनकपुरधाम उपमहानगरको वर्तमान अवस्थाको भूगोल, जनसंख्या, बजेट र क्षेत्रफलको हिसाबले प्रदेश नम्बर २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरले क्वारेन्टाइन बनाउन नसकेको भन्दै स्थानीयस्तरमा तिव्र विरोध भईरहेको छ । जनताको स्वास्थ्य प्रति उपमहानगरपालिका अहिलेसम्मपनि सचेत नभएको र क्वारेन्टाइन निर्माण गरी संचालन समेत गर्न नसक्नु दुःखद रहेको जनकपुरधाम वडा नम्बर ८ बस्ने यूवा अभियन्ता सरोज मिश्रले बताए । उनले जनकपुरधाम उपमहानगर अन्तर्गतको स्वास्थ्य विभागलाई समेत परिचालन गर्न नसक्नु र क्वारेन्टाइन संचालनसम्मको व्यवस्था गर्न नसक्नु लज्जाको विषय रहेको प्रतिक्रिया दिए ।
त्यस्तै अर्का यूवा अभियानी सुशिल कर्णले स्थानीय सरकार जनता र जनताको स्वास्थ्यप्रति सचेत तथा गम्भिर नरहेको आरोप लगाए । कोरोना संक्रमण रोक्न सम्भावितलाई क्वारेन्टाईनमा राखेर व्यवस्थित गर्नुपर्ने जिम्मेवारीबाट पन्छिएर गैरजिम्मेवारपूर्ण गैर जिम्मेवारी व्यवहार जनकपुरधाम उपमहामनगरको रहेको यूवा अभियानी कर्णले आरोप लगाए । धनुषामा क्वारेन्टाइनको अवस्थाधनुषामा एक गाउँपालिका र एक उपमहानगरपालिका बाहेक हरेक स्थानिय तहले यस संक्रमण कालको समयमा सकेजति आफ्नो तर्फबाट क्वारेन्टाइनको व्यवस्था गरेको छ । धनुषा जिल्लामा अहिले सम्ममा १६ वटा स्थानिय तहमा ३ सय ५३ बेड क्षमता भएको क्वारेन्टाइनमा ९३ जना रहेका छन् भने ३२ बेड संख्या भएको आइसोलेशनमा १० जना विरामी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनाए ।

गाउँपालिका र नगरपालिकाले आ–आफ्नो तर्फबाट कोरोनाको शंकास्पद विरामीको लागि क्वारेन्टाइनको व्यवस्था गरेतापनि जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अहिले सम्म यसको व्यवस्था गरेको छैन । धनुषामा नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा प्रदेश सरकारले नै ७५ बेड क्षमता रहेको क्वारेन्टाइन सञ्चालनमा रहेको छ भने ३२ बेड क्षमता रहेको आइसोलेशन रहेको छ । त्यस्तै धनुषाधाम नगरपालिकामा ३८, गणेशमान चारनाथ नगरपालिकामा २४, सबैला नगरपालिकामा २५, मिथिला नगरपालिकामा १०, क्षीरेश्वरनाथ नगरपालिकामा ११, विदेह नगरपालिकामा २५, शहिदनगर नगरपालिकामा ३०, कमला नगरपालिकामा १५, मिथिला बिहारी नगरपालिकामा ७, हंसपुर नगरपालिकामा ११, जनकनन्दनी गाउँपालिकामा २०, बटेश्वर गाउँपालिकामा २५, लक्ष्मीनीया गाउँपालिकामा ७, औरही गाउँपालिकामा १६ र धनौजी गाउँपालिकामा १४ बेड क्षमता रहेको क्वारेन्टाइनको निर्माण भएको हो ।
यता जनकपुरधाममै नगरप्रमुख लालकिशोर साहले क्वारेन्टाइनको व्यवस्था नगरेपछि वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफ्नो वडामा ८ बेड क्षमता भएको क्वारेन्टाइन संचालनमा ल्याएपछि अहिले यस वडाका वासीहरु भने ढुक्क हुन थालेका छन् ।जनकपुरधाम वडा नम्बर ७ बस्ने ५० वर्षिय जगदीश साहलले भने– जनकपुरधाम उपमहानगरमा अहिलेसम्म कुनै किसिमको क्वारेन्टाइन भवन नरहेको अवस्थामा बाहिरबाट आउने मानिसलाई देख्ने वित्तिकै डराई रहनुपरेको बेलामा आफ्नै वडामा क्वारेन्टाइन भवन संचालनमा आएपछि हामी ढुक्क छौँ ।जनकपुरधाम उपमहानग वडा नम्बर ७ मा क्वारेन्टाइन भवन संचालन आएपछि धनुषा चैम्बर्स कर्मशले एक थान मास्क वडाध्यक्ष जानकीराम साहलाई हस्तान्तरण गरेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !