विन्देश्वर ठाकुर
जीवनसंग समयलाई बेचेर
आर्जन गरेको सर्टिफिकेट
उता आफ्नै देशमा
गतिलो भाउमा नबिकेपछि
बाध्यतावश,
हरियो पास्पोर्ट हातमा बोकी
सपनाको तरबारले सपना काट्न
विना शर्त मुग्लान पसे ।
यसरी,
देशदेखी छुट्टिएर बसिरहदा
मुग्लानको जीवन बाँचिरहदा
पैसा संग जवानी साटिरहदा
ए मेरा रामु काका
तपाईं कसरी भन्नसक्नुहुन्छ –
देशप्रतिको मेरो सदभाव र समर्पण
कम भयो भनेर ।
हरेक साँझ गोधुलीमा
आफ्नै क्याम्पको एकान्त कुनामा गएर
जब म देश र समाजको बारेमा
सोच्ने गर्छु –
आकाशमा चम्किने ताराहरुझै
देशका सम्झनाहरु खेल्छन्
मेरो मनको आँगनभरी र
आँखाबाट सलल सलल मोति
बग्छ कोसी कर्णाली भएर ।
उता देश रोई रहदा
यता मेरो मनमस्तिष्कमा
पश्चतापको बज्रपात खसिरहेको हुन्छ
तन टनटनी दुखिरहेको हुन्छ
मन भतभती पोलिरहेको हुन्छ ।
यति हुदा पनि ए मेरी माइली काकी
तिमीले कसरी भन्छौ ?
मभित्रको देशप्रेम कम भयो भनेर ।
यो खाडीमा जब म कुनै समथर भूभाग देख्छु –
मलाई मेरो तराईको फाट देखिन्छ
जब म निलो समुन्द्र देख्छु
मलाई मेरो देशको नक्सा सुस्पष्ट हेर्नमा आउँछ
जब म यहाँको खजुरहरुलाई उभिएको देख्छु
मलाई पृथ्वी नारायण शाहका सीपाहीहरु सुरक्षा कबच लगाएर देशको सुरक्षामा तल्लीन भएको महशुस हुन्छ अनि म पाँउछ
मेरो देशको शीर एकदमै ठाडो ।
जब म यहाँको बालुवा देख्छु
अनि आफ्नो मुटुलाई छाम्छु
त्यतिकै सुरक्षित र गौर्वान्वित देख्छु आफ्नो सागरमाथालाई
म आफ्नो छातिभित्र ।
त्यसर्थ स् ए मेरा रामु काका
ए मेरी माइली काकी
भूगोलको जुनसुकै भूभागमा भए पनि
भूमध्यरेखाको जुनसुकै आक्षांश र देशान्तरमा भए पनि
मृत्युप्रयन्त मेरो नस नसमा छ
देशभक्ती
मेरो कण कणमा रहनेछ देशप्रेम ।
यो विषयमा टिप्पणी गर्नुहोस् !