द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २५ । सरकारले थप गरेको तेस्रो चरणको लकडाउनको पूर्व सन्ध्यामा धनुषा जिल्लामा प्रशासनले थप कडाई गरेको छ । लकडाउन कार्यान्वयन गराउनका लागि जनकपुरधाममा सुरक्षाकर्मीले थप कडाइ गरेको हो । दोस्रो चरणको लकडाउन केही खुकलो देखिएपछि स्थानीय प्रशासनले तेस्रो चरणको लकडाउन कार्यान्वयन गराउन कडाइ गरेको हो ।मंगलबार अपरान्हसम्म प्रहरीले जनकपुरधामबाट लकडाउन अवज्ञा गरेर चलाइएका १४९ सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउनको अवधिमा बिनाकारण सञ्चालन गरेको पाइएपछि जनकपुरधामको विभिन्न स्थानबाट यति संख्यामा सवारी साधनहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सबैलाई जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत १ सय रुपैयाँ जरिवाना गराएर छोडिएको छ ।
यस अघि लकडाउनको अवधिमा जनकपुरधामको रेलवे स्टेशन नजिक लाग्दै आएको तरकारी बजार समेत बन्द गरिएको छ । भीडभाड बढेपछि व्यापक आलोचना हुँदा स्थानीय प्रशासनले मंगलबारदेखि तरकारी बजार बन्द गराएको हो ।सामाजिक दूरीको ख्यालै नगरी तरकारी बजार सञ्चालन भएपछि कोरोना संक्रमणको जोखिम रहेको भन्दै स्थानीय प्रशासनको चर्को आलोचना भएको थियो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !