द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २५ । कोरोनाको मार चौतर्फी रुपमा परेको छ । कोरोना त्रास त छँदैछ त्यसमाथी अन्य रोगका बिरामीहरुको उपचारमा समेत समस्या भई रहेको छ । कोेरोनाको त्रासका कारण चिकित्सकहरु स्वयं उपचार गर्नबाट पञ्छि रहेका छन् । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणमा परेका तथा अन्य रोगका बिरामीको उपचारबाट नपन्छिन अस्पताल प्रशासन तथा चिकित्सकहरुलाई आदेश दिएको थियो । तर त्यसको विपरित अधिकांश निजी अस्पतालमा कार्यरत चिििकत्सकहरु बिना कुनै जानकारी अस्पताल छोडेर गएका छन् ।
प्रदेश दुूईका मुख्यमन्त्री लालबाबु राउतले समेत राज्यको सेवा सुविधा लिने अस्पतालहरुको लाइसेन्स खारेज गर्ने तथा बिरामी जाँच गर्नबाट पन्छिने चिकित्सकहरुलाई कारबाही गर्ने चेतावनी दिएका थिए । यद्यपि सर्वोच्च अदालतको आदेश तथा मुख्यमन्त्री राउतको चेतावनीका बावजुद प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामकै अस्पतालहरुबाट डाक्टरहरु जानकारी नै नदिई गायब भएका छन् । जनकपुरधामका दजनौं निजी अस्पतालमा कार्यरत डाक्टरहरु कोरोनाको त्रासका कारण अस्पताल प्रशासनलाई कुनै जानकारी नै नगराई गायव भएको एक निजी अस्पतालका सञ्चालकले बताए । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्न इच्छुक निजी अस्पतालका डाक्टरहरुलाई पनि सरकारी डाक्टर सरह सेवा सुविधा दिने घोषणा गरेको थियो ।गत सोमबारको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टरहरु सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरेर कामको अवसर दिने निर्णय गरेको थियो । तर ती सबै निर्णयहरुले समेत चिकित्सकहरु भित्रको त्राससलाई हटटाउन सकेन ।
कोरोना त्रासका बिच जनकपुरधामका निजी अस्पतालहरुले ओपिडी सेवा नै बन्द गरेका छन् । अस्पतालहरुले आकस्मिक सेवा सुचारु राखेको भएपनि विरामीलाई उपचार गर्न नमानिरहेको अवस्था छ । कोरोना भाइरसको संक्रमणको शंकास्पद विरामी आउने डरले निजी अस्पतालको गेटमै कडाई गरिएको छ । उनीहरुले टाउको दुखेको, खोकी लागेको र ज्वरो आएको विरामीलाई अस्पताल नछिराउने र आकस्मिक भन्दै छिरेमा तत्काल सरकारी अस्पतालमा रेफर गर्न थालेका छन् ।
जनकपुरधाममा बाल अस्पताल सञ्चालन गर्दै आएका डाक्टर जामुन सिंहको अस्पतालबाट पनि कोरोनाको डरले चार जना स्वास्थ्यकर्मीले घरको दवावका कारण जागिर नै छोडेर राजिनामा दिएका छन् । डाक्टर सिंहले भने,‘अहिलेको बिषम परिस्थितीमा सामान्य ज्वरोका विरामी आउँदा पनि चिकित्सकहरु डराउँछन् । त्यसैले हुनसक्छ उनीहरु ड्युटी आउन छाडेका हुन् ।’ जनकपुरधामका अस्पतालहरुबाट डाक्टरहरु नै गायब हुन थालेपछि अन्य बिरामीहरुलाई समस्या हुँदै गएको देखिन्छ । जनकपुरधाममा कुल ३५ निजि अस्पतालहरु सञ्चालनमा रहेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !