द सौर्य मिथिला समाचारदाता

इनरुवा, चैत २५ । देश लकडाउन भएका बेला सुनसरीका कृषकलाई समस्या भए । कोरोना भाइरस कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको बेला कृषकलाई खेतबालीमा सिँचाइ गर्न र उत्पादन भएको बाली भित्र्याउन समस्या भए । जिल्ला सदरमुकाम इनरुवासहित कोशी, हरिनगर, देवानगञ्ज, बराहक्षेत्र, बर्जुलगायत गाउँपालिका तथा नगरपालिकामा रहेका कृषकले लकडाउनका कारणले इन्धन, मलखाद र मजदूर नपाएका कारणले उत्पादन भएको बाली घर भित्र्याउन र लगाइएको बालीमा सिँचाइ गर्न समस्या भएको देवानगञ्ज गाउँपालिका– ७ का कृषक बलराम यादवले बताए । आफूले ६ बिघा जग्गामा मकै खेती गरेको र इन्धन नपाएका कारणले सिँचाइ नहुँदा खेतमै सुक्ने गरेको कृषक यादवको भनाइ छ । जिल्लामा अहिले मकै र मौसमी तरकारी खेतीलगायत खेतबारीमै सुकेको तथा गहुँलगायत उत्पादन भएको बाली भित्र्याउनका लागि मजदूर नपाउँदा आफूहरुलाई तनाव उत्पन्न भएको कृषक डुमरलाल मेहताले बताए । तेल पर्याप्त मात्रामा आएका बेला उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने गरेको सुनसरी आयल सप्लायर्सका सञ्चालक मनीष माणुले बताए । अहिले पर्याप्त मात्रामा तेल नआएका कारणले कृषकले माग गरेबमोजिमको नपाएको सप्लायर्सका सञ्चालक माडुको भनाइ छ ।
स्थानीय प्रशासन तथा सुरक्षा निकायले लकडाउनका बेला घरबाट बाहिर निस्कन नदिने गरेका कारण तेल लिनका लागि कसरी जाने र लगाइएको बालीमा कसरी सिँचाइ गर्ने भने चिन्ताले सताएको कृषक यादवको भनाइ छ । तेल तथा मलखाद लिनका लागि बाहिर निस्कँदा प्रहरीले ज्यादती गर्ने गरेको कृषकले गुनासो गरे । कृषकको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत पहल भइरहेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताउनुभयो । लकडाउनका बेला कृषकलाई सिँचाइ र बाली भित्र्याउन समस्या भएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख उराँवले जानकारी दिए । कृषकको समस्याका विषयमा आफूसमक्षसमेत गुनासो आएकाले समाधानका लागि पहल भइरहेको उनको भनाइ छ । सुनसरीमा उत्पादित सामग्री जिल्लामा मात्र नभई बाहिरसमेत जाने गराए । यस वर्ष जिल्लामा कृषि उत्पादनमा कमी आउने उराँव ठोकुवा गरे ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !