द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २४ गते । कोरोना भाईरस संक्रमण फैलिन नदिनका लागि सरकारले लगाएको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने तथा विपन्न वर्गहरुको अत्याधिक प्रभावित भएपछि जनकपुरधामको व्याहुत कलवार समितिले निःशुल्क भोज तथा खाद्यान्नको व्यवस्था गरेको छ । लकडाउनको समयमा गरिब तथा विपन्न वर्गहरुलाई दैनिक छाक टार्न समस्या भएपछि समितिले निःशुल्क भोजन तथा खाद्यान्नको व्यवस्था गरेको हो ।
समितिका अध्यक्ष शम्भुप्रसाद साहले कोभिड १९ बाट बच्नका लागि सरकारले घरभित्रै बस्न आग्रह गर्दै लकडाउनको घोषणा गरेपछि गरिब तथा विपन्न वर्गहरुलाई एक छाक टार्न समेत समस्या भईरहेकोले आफुहरुले विभिन्न संघ संस्था तथा युवाहरुसँग समन्वय गरी तत्कालका लागि लगभग ३ सय जति घरपरिवारहरुलाई खाद्यान्न पुग्ने गरी निःशुल्क भोजन तथा खाद्यान्न वितरण गर्न सुरु गरेको जानकारी दिए । यता निःशुल्क भोजन तथा खाद्यान्न वितरणको कार्यमा आफुहरुले सकभर सहयोग गरिरहेको युवा नेता राकेश विक्रम साहले बताए ।

उनले भने ‘ लकडाउनको आज १४ औँ दिन भईसकेको छ तर अहिलेसम्म जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधिहरु कुनै प्रकारको सहयोग गर्न आएका छन् न त खोजखबर नै गरेका छन् ’ । त्यसैगरी समितिका महासचिव संजय साहले आफुहरु सकेजति गरिब तथा विपन्न वर्गहरुलाई आर्थिक रुपमा सहयोग तत्पर रह्ने बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !