द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, फागुन ११ ।
महोत्तरीको सहोडवामा एक दम्पतिबाट घरबाटै अपहरण गरिएको छ ।
मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका सो दम्पतिको घरबाटै अपहरण गरिएको हो ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोड़वाका ६५ वर्षीय मोसाफिर झा र उनको ६० वर्षीया पत्नी गीतादेवीलाई सुतेको अवस्थामै घरबाट अपहरण गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मंगलबार बिहान अबेरसम्म झा दम्पतिलाई नदेखेपछि गाउँका मानिसहरुघरमै हेर्न जाँदा सुत्ने कोठामा रगतको थोपा देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।
झा दम्पति सुतेको कोठामा रगतको थोपाहरु समेत देखिएकोले घटना शंकास्पद बन्दै गई रहेको छ ।
अपहरित दम्पतिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले बताए ।
स्थानीयहरुका अनुसार मोसाफिर झा अदालतमा विचाराधिन रहेको मोही जग्गा विवाद मुद्दामा साक्षी थिए ।
विवादित जग्गाको विपक्षीसंग केही दिन अगाडी विवाद समेत भएको स्थानीयहरु बताउँछन् ।
झा दम्पतिको अपहरण भएको खबर पाए लगत्तै स्थानीयहरु जनकपुरधाम भिठामोड सडकखण्डमा चक्का जाम गरेका छन् ।
दूबैको पत्तो नलागेसम्म चक्का जाम राख्ने स्थानीयहरुको चेतावनी छ ।
चक्का जामका कारण यात्रुहरुलाई आवत जावतमा समस्या भई रहेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !