द सौर्य मिथिला समाचारदाता

नेपालगञ्ज, चैत २४ । नेपालगञ्जस्थित पश्चिम नेपालकै सबैभन्दा ठूलो फत्तेबाल आँखा अस्पतालमा केही दिनयता विरामीको सङ्ख्या ह्वात्तै घटेको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित उक्त अस्पतालमा लकडाउनपछि दैनिक सरदर १० जना मात्रै नयाँ आँखाका विरामी मात्र आउने गरेका छन् । अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार वर्माका अनुसार लकडाउन अघि दैनिक ५०० को हाराहारीमा विरामी उपचारका लागि आउने गरेका थिए । प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका विरामीको वाक्लो उपस्थिति रहने सो अस्पतालमा भारतीय विरामी पनि ५० प्रतिशतको हाराहारीमा आउने गरेका थिए । लकडाउन शुरु भएपछि अस्पतालले आपतकालीन सेवा मात्र शुरु गरेको छ । आँखा दुःखेका, रातो भएका, आँखामा कसिङ्गर पसेका, फलोअपमा रहेका तथा तत्काल उपचार गर्नैपर्ने अवस्थाका विरामीलाई मात्र अस्पतालले सेवा उपलव्ध गराउँदै आएको छ ।
“लकडाउनपछि हामीले उपचार सेवा पूर्णरुपमा बन्द गरेका त छैनौ, तर उपचारका लागि आउने विरामीमा कोरोना भाइरसको जोखिम जाँच गरेर मात्र प्रवेश दिने गराए ।” प्रबन्ध निर्देशक वर्माले भन्छन् । अस्पतालमा आउने विरामीसँग एक जना कुरुवा मात्र रहने व्यवस्था मिलाइएको, विरामी र कुरुवालाई सेनेटाइज गरेर तथा मास्क उपलव्ध गराएर मात्र प्रवेश अनुमति दिने गरिएको तथा चार चिकित्सक र ३६ स्वास्थ्यकर्मी मध्ये पालैपालो दुई÷तीन जनालाई काममा खटाउने गरिएको र बाँकी सबैलाई घरमै बस्न भनिएको छ । सो आँखा अस्पतालअन्तर्गत अहिले सुर्खेंतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी ८ ओटा आँखा उपचार केन्द्र संचालन हुँदै आए । लकडाउनका कारण अस्पतालले संचालन गर्दै आएको ‘समुदाय पहुँच कार्यक्रम’ पनि प्रभावित भए । समुदायमा आँखाको आँखाको महत्व, त्यसको हेरविचार, उपचार विधिका बारेमा कार्यक्रमअन्तर्गत समुदायलाई सचेतीकरण गर्दै आएको थिए ।
यस्तै लकडाउनका कारण सन् २०२० सम्म संचालन हुने ‘भिजन ट्वान्टी-ट्वान्टी कार्यक्रम’ पनि प्रभावित हुने भए । सो कार्यक्रमअन्तर्गत मोतियाविन्दु, जलविन्दु, खस्रे रोगको उपचार, बालबालिकामा हुने अन्धोपन न्यूनिकरण, चश्माको जाँच, न्यून दृष्टि सेवा, मधुमेहका कारण आँखाको दृष्टिमा पर्ने असरको उपचार गर्नुका साथै आँखा रेखदेख सम्बन्धी चेतनामूलक कार्यक्रमलाई समेटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष टण्डनले जानकारी दिए ।
उनका अनुसार, नेपालमा आँखाका समस्या भएका नागरिक मध्ये ९० प्रतिशत ग्रामिण भेगका छन भने ७२ प्रतिशत मोतियाबिन्दुको समस्यावाट प्रभावित छन् । आँखाको विभिन्न रोगबाट पीडित मध्ये ८० प्रतिशतको रोग निको गर्न सकिने पछिल्लो पटक गरिएको सर्वेक्षणले देखाए । भिजन ट्यान्टी-ट्वान्टी कार्यक्रम त्यसैको एउटा कडी हो । संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका लागि अधिकार’ नारा सहित भिजन ट्वान्टी-ट्वान्टी कार्यक्रम तर्जुमा गरेपछि नेपालले अनुमोदनपत्रमा हस्ताक्षर गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मुलुकभरि कार्यक्रम संचालन गर्दै आए ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !