जनकपुरधाम, माघ ११ ।
बारा जिल्लालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन अन्तरगत माछा जोन क्षेत्र घोषणा गरिएपछि अहिले जिल्लामा माछा पालन व्यवसाय फस्टाएको छ ।
चालु आर्थिक बर्षको ६ महिनामा बारा जिल्लामा ६ अर्ब बराबरको माछाको कारोवार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन माछा बाराका प्रमुख डा। सुरेन्द्र यादवले बताए ।
बाराका किसानहरुले माछा उत्पादनबाट राम्रो आम्दानी गर्न थालेपछि माछापालन व्यवसाय फस्टाउँदै गएको यादवले बताए ।
जिल्लामा रहेका दुई हजार ५ सय हेक्टर क्षेत्रफलको पोखरीबाट बर्सेनि ३० हजार मेट्रिक टन माछाको उत्पादन हुने गरेको उनले बताए ।
तीमध्ये एक हजार ७ सय हेक्टर क्षेत्रफल पकेट क्षेत्रका माछा पोखरी रहेका छन् ।
बारामा उत्पादित ९० प्रतिशत माछा बीरगंज, हेटौडा, नारायणघाट, काठमाण्डौ लगायतका क्षेत्रमा आपूर्ति हुने गरेको तथा हाल भारतको विहारमा समेत बाराबाट २० देखि २५ प्रतिशत जिउँदो माछा जाने गरेको किसानहरुले बताएका छन् ।
जिउँदो माछा लिन व्यवसायीहरु पोखरीमै आउने गरेको र बजारको कुनै समस्या नरहेको किसानहरुले बताएका छन् ।
माछा पालनका लागि बारामा आवश्यक पूर्वाधारसँगै पानीको श्रोत सुहाउँदो माटो र न्यानो हाँवापानी भएकाले माछा पालक किसानहरु वर्षमा तीन पटकसम्म माछा विक्री गर्ने गरेकाले अन्य कृषि व्यवसाय भन्दा माछापालन व्यवसाय नै बारामा आम्दानीको मुख्य श्रोत बन्दै गएको मत्स्य पालक किसानहरुले बताएका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !