विन्देश्रर ठाकुर
हरेक रात सपनीमा
आगोको एउटा डल्लो देख्छु
मेरै ओछ्यानमा खस्छ,सल्कन्छ अनि घर हुन्छ -स्वाह :
म झस्कन्छु,ब्युझन्छु र
ह्वात्तै अखबार हेर्छु
अखबारमा छापिएका हुन्छन् –
आन्दोलन चर्किएको कुरा
गोली दागिरहेको खबर
अभावले मरिरहेका जनता
अनि अनवरत रोइरहेका
सहिदका परिवारहरु ।
नसा दुख्छ,टाउको दुख्छ
छाति दुख्छ्न्, धडकन दुख्छ
म कसरी भनूँ साथी
अरु कहाँ-कहाँ दुख्छ ?
शरीरको हरेक अंगमा
मलाई मेरो देश दुख्छ !
हिजो मात्रै देखेको थिए –
हिमाल पग्लेको छ
पहिरो आएका छन्
नेपाल बगेको छ
आफन्त पुरिएका छन्
म झसङ भएर टि.भि.खोल्छु –
सामाचारमा अघोषित नाकाबन्दी सुन्छु
अधिकार विना तड्पिरहेका
तराईको चित्कार सुन्छु
अनि अर्कोतिर,
सत्ता पक्षको मौनता र
दमनको पराकाष्टा पनि हेर्छु
फोक्सो दुख्छ,कलेजो दुख्छ
किडनी दुख्छ्न्,रक्तकेशिका दुख्छ
म कसरी भनूँ साथी ?
अरु कहाँ-कहाँ दुख्छ ?
शरीरको हरेक अंगमा
मलाई मेरो देश दुख्छ !
हामी मुग्लानी भयौ
बाध्यता थियो
देश छातिमा बोक्छौ
देशभक्ती हो
तर,
राष्ट्र स्थिर,स्वच्छ र
शान्त नभएसम्म
देशका हरेक नागरिकले
हक नपाएसम्म
कलम दुख्छ,कविता दुख्छ
कवि दुख्छन्, मेरो मन दुख्छ
म कसरी भनूँ साथी
अरु के-के दुख्छन् ?
शरीरको हरेक अंगमा
मलाई मेरो देश दुख्छ !
यो विषयमा टिप्पणी गर्नुहोस् !