द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २१ । अति जोखिममा रहेर सेवा दिइरहेका उद्योगी, व्यवसायीको मनोबललाई सुरक्षा निकायद्वारा आघात पु¥याउने गतिविधि गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ । अत्यावश्यक वस्तु बिक्री वितरण गरिरहेका उद्योगी, व्यवसायीमाथि लौरो प्रहार गरी पक्राउ गर्ने गतिविधिमा वृद्धि भइरहेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य सङ्घद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको हो ।सर्जिकल वस्तु, औषधि, खाद्यान्न, दूध, तरकारी, ग्यास, फलफूल बिक्री वितरण गर्दा सुरक्षा निकायबाट व्यवसायीको जीउ रक्षा नगरी मनोबल कमजोर पार्ने क्रम बढ्दै जानु चिन्ताको विषय भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । सङ्घका अध्यक्ष ललितकुमार साह र महासचिव जितेन्दकुमार महासेठद्वारा गराएको ध्यानाकर्षणमा विगतमा विपद्का बेला प्रशासनद्वारा सङ्घसँग समन्वय गरी समस्या समाधानको प्रयास भएको स्मरण गराएको छ । लाखौँ मोलको सामान दिनहुँ खराब भइरहेको अवस्थामा उद्योगी, व्यवसायीको मनोबल उच्च राखी उत्पन्न समस्याको समाधानका लागि गम्भीर हुन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

अस्पताल निरीक्षण

प्रदेश नं २ का मन्त्रीद्वयसहितको टोलीले बिहीबार कोरोना भाइरस उपचारका लागि तयार पारिएको प्रादेशिक अस्पताल जनकपुरको निरीक्षण गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र मुख्यन्यायधिवक्ता दीपेन्द्र झासहितको टोलीले अस्पतालको निरीक्षण गरेको हो ।सो अवसरमा टोलीले कोरोना परीक्षणका लागि जडान भइरहेको पिसिआरको निरीक्षणसमेत गरेको थियो । चिकित्सकहरुले केन्द्रबाट पठाएका सामग्रीमा गाउनमात्र पठाएको भन्दै आपत्ति जनाएका थिए । यसअघि आएको सामग्री उपयुक्त रहे पनि त्यसको मात्रा थोरै रहेकोले अविलम्ब थप व्यवस्थापन गर्न आग्रह गरेका थिए ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !