काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक एकाउन्ट खोलेका छन्। विश्वभर लोकप्रिय रहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीको पनि एकाउन्ट खोलिएको हो।
आइतबार बनाइएको उनको टिकटक एकाउन्ट भेरिफाइड पनि गरिएको छ। प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट खोल्नेबारे छलफल भए पनि खोलेको जानकारी नभएको बताए।
‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियो’, उनले भने, ‘तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ।’
प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ। ‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ। सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ।
एउटा मात्रै भिडियो अपलोड गरिए पनि फलोअर्सहरु एकै दिन बढेका छन्। उक्त भिडियो करिब अढाई लाखले हेरिसकेका छन् भने ४ सय भन्दा बढी कमेन्ट र १६ हजार भन्दा बढी लाइक गरेका छन्। यसलाई तीन सय बढीले सेयर पनि गरेका छन्।
भारत र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा प्रधानमन्त्रीले नै एकाउन्ट खोलेर भिडियो सेयर गर्न थालेका हुन्। टिकटक पछिल्लो पुस्तामा सबैभन्दा बढी लोकप्रिय मल्टिभिडया सामाजिक सञ्जाल हो।
यो विषयमा टिप्पणी गर्नुहोस् !