द सौर्य मिथिला समाचारदाता
काठमाण्डौं, चैत १८ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गरिएको लकडाउनका कारण यस वर्षको रामनवमी पर्वका दिन देशभरका राम मन्दिरमा भक्तजनको भीड नलाग्ने भएको छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्याका राजकुमारका रूपमा पिता दशरथ र माता कौशल्यावतीको सुपुत्रका रूपमा श्रीरामको जन्म भएको विश्वासमा प्रत्येक वर्ष यो पर्व मनाउने गरिन्छ ।
यस वर्ष पशुपति क्षेत्रस्थित बत्तीसपुतलीमा रहेको श्री रामचन्द्र मन्दिरमा अष्टमीका दिन गरिने शोभायात्रा र नवमीका दिनमा लाग्ने मेला स्थगन गरिएको श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संरक्षण समितिका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभए ।
श्रीरामचन्द्र मन्दिरमा चैत्र शुक्ल नवमीका दिन लाखौँ भक्तजन पूजा एवं दर्शनका लागि पुग्ने गर्थे । मन्दिरमा मेला र शोभायात्रा स्थगन नगर्दा भीडभाडका कारण कोभिड–१९ को सङ्क्रमण अझ बढी फैलन सक्ने भएकाले अप्रिय निर्णय गर्न बाध्य हुनुपरेको उहाँले बताए । अष्टमीका दिन गरिने शोभायात्रामा पनि हजारौँ भक्तजनलाई सहभागी गरेका थिए ।
यसैगरी पशुपति आर्यघाटपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका राममन्दिरमा विशेष मेला, शोभायात्रालगायत भीडभाड हुने कार्यक्रम स्थगन गरी पुजारीबाट हुने नित्य रामनवमीको विशेषपूजा भने यथावत रहने जनाएको छ । विशेष पूजाका क्रममा कोरोना भाइरसको अन्त्यको कामनासमेत गरिने छ । भीडभाडका कार्यक्रम स्थगन गरिए पनि रामनवमीका अवसरमा प्रत्येक वर्ष मन्दिरमा हुने विशेष पूजा पुजारीको समूहले गर्ने जनाएको छ । मन्दिरमा उपस्थित हुन नसके पनि घरमै लकडाउनमा रहेका भक्तजनले श्रीरामचन्द्रको पूजा, आराधना, रामायण, रामस्तोत्रलगायत ग्रन्थको पाठ पारायण गर्न सक्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतम बताए ।
चैत्र नवरात्रका अवसरमा घरमै देवी र नवमीका दिन श्रीरामको पूजा, आराधना एवं पाठ पारायण गरेमा लकडाउनका कारण मनमा हुने चिन्ता, डर, त्रास अन्त्य भई रोगका विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले साधनाका लागि उपयुक्त समय भएको उनले बताए ।चैत्र नवरात्रका अवसरमा घरमै बसेर भक्तजनले देवीको आराधना गरे प्रकृतिमा सात्विक शक्तिको वृद्धि भई कोरोनाको त्रासबाट छिट्टै मुक्ति मिल्ने विश्वास लिइएको अध्यक्ष गौतमको भनाइ थियो ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !