
सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, चैत १८ । पूर्वी नेपाल र राजधानी काठमाडौंबीचको दूरी छोट्याइदिने बीपी राजमार्गमा दिनहुँ हजारौं सवारीसाधन गुड्ने गर्छ । नियमित रूपमा आउजाउ गर्ने र आवश्यक कामले हिँड्नेहरू मात्र होइन, राजधानीबाट पूर्वी भेगतिर घुम्न निस्कनेहरू पनि यही राजमार्ग हुँदै यात्रा गर्न रुचाउँछन् । कम समयमै राजधानी काठमाडौँसम्म पुग्न सक्ने भएकाले यो बाटो प्रयोग गर्नेहरुको संख्या बढी छ । सोही राजमार्गमा सिन्धुली जिल्लाको रिठेभीर पर्छ । रिठेभिरमा झुण्ड्याइएका ऐनाहरुले जो कोहीलाई आफूतिर आकर्षित गर्ने गर्छ । ऐनाले भरिएको सो भीर देखेर सबैको मनमा एउटै जिज्ञासा हुन्छ आखिर त्यहाँ ऐना नै ऐना किन टांगिएको होला ? सोही ऐनाहरुको भीडका बीच सेतीदेवी माई भगवतीको मन्दिर समेत छ । त्यहाँ सेती देवी माई मन्दिरको दर्शन समेत गर्न सकिन्छ । त्यहाँ सेतीदेवी माताको मन्दिर स्थापना गरिनु र ऐनैऐना राखिनुको खास कारण दैवी शक्तिमाथिको आस्था र सुरक्षित यात्राको आकांक्षासँग जोडिएको त्यहाँका पूजारी नीरप्रसाद आचार्य बताउँछन् । चार खण्डमा विभाजित एक सय ६० किलोमिटर लामो बीपी राजमार्ग २० वर्ष लगाएर निर्माण गरिएको हो । जापान सरकारको सहयोगमा निर्माण गरिएको सो सडकखण्डको पहिलो तीन चरणमा सिन्धुलीमाडी–बर्दिबास (३७ किमि), धुलिखेल–नेपालथोक (५० किमि) र सिन्धुलीमाडी–खुर्कोट (३६ किमि) खण्ड निर्माण पूरा हुँदा चौथो खण्ड नेपालथोक–खुर्कोट (३७ किमि) भने निर्माणाधीन थियो । सिन्धुली सुनकोसी गाउँपालिका–५ मूलकोटको रिठेभीर त्यही खण्डमा पर्छ ।

२०७२ सालमा जापानले नेपाललाई सडक हस्तान्तरण गर्नुभन्दा ६ वर्ष अगाडि नै त्यस खण्डमा सवारीसाधन चल्न थाले । जसका कारण दुर्घटनापनि अत्याधिक संख्यामा हुन थाल्यो । त्यतिबेला अप्ठ्यारो बाटो भएकाले दुर्घटनाको अनुमान गरिनु अस्वाभाविक थिएन । नभन्दै अनुमान यथार्थमा बदलियो । २०६८ वैशाख २० गते एउटा यात्रुबस रिठेभीरबाट सुनकोसीमा खस्दा १३ जनाको घटनास्थलमै ज्यान गयो । कहिल्यै दुर्घटना नदेखेका स्थानीयहरु डराए । सोही दुर्घटनाको पाँच महिनापछि असोज २६ गते सोही ठाउँका त्यस्तै खालको दुर्घटना दोहोरियो । सिन्धुलीबाट राजधानीतर्फ आइरहेको यात्रुबस सुनकोसीमा खस्दा ४१ जनाले घटनास्थलमै ज्यान गुमाए । मनमा लागेको डर भगाउन मूलकोटवासीहरुले सप्ताह पुराण गर्ने सल्लाह गरे । पछिल्लो दुर्घटनामा निधन भएका ४१ जनाको शव जम्मा पारिएको मूलकोट चौरमा सप्ताह लगाइएको थियो ।
पूजारी आचार्यका अनुसार बसमा सिन्धुलीतर्फ जाँदै गरेकी एक महिलाले म सेतीदेवी हुँ भन्दै काम्न थालिन् । सप्ताह पूराण भईरहेको स्थलमा ती महिलाले काम्दै सबैसामु आफू सेतीदेवी रहेको र आफ्नो वासस्थानमा क्षति पुगेपछि मान्छेको भोग लिन थालेको बताइन् । पूजारी अचार्यले अगाडी भने ती महिलाले रिठेभीरतिर मलाई जान लगाएर सप्ताह पुराण स्थलमा रहेका सबैसामु मोबाइल फोनबाट निर्देशन दिँदै गइन्, हाल सेतीदेवी रहेको स्थानमा पुग्दा आफ्नो बासस्थान त्यही भएको बताउँदै सम्झन लगाइन् ।’ त्यसपछि सुनकोसीमा आएर एउटा ढुंगा टिप्न लगाएर ती महिला काम्न छाडेको उनी सुनाउँछन् । आफूलाई सेतीदेवी बताउने महिलाले आफ्नो वासस्थान भन्दै देखाएको ठाउँ सडकछेउ भित्ता परेकाले हाज्मा कम्पनीलाई खोपी बनाउन लगाई २०६८ सालमा सुनकोसीमा टिपिएको ढुंगालाई सेतीदेवी माईका रूपमा प्रतिस्थापन गरिएको पूजारीको भनाइ छ ।

रिठेभीरमा देवी स्थापनापछि रिठेभीरको बाटो खन्दै गरेका एक्साभेटर पल्टिने, बिग्रिनेजस्ता अनपेक्षित घटना हुन थाले । सडक निर्माणमा जुटेको हाज्मा कम्पनीका जापानी प्राविधिकको टोलीले सेतीदेवीलाई बोका बलि दिएपछि भने त्यस्ता घटना दोहोरिन छाडेको स्थानीयहरु बताउँछन् । देवी स्थापनाको केही दिनमै चालक बाल तामाङले आफ्नो बसको नम्बर ‘बा२ख ८८८५’ लेखेर एउटा ऐना राखेको सुनकोसी ५का वडाध्यक्ष कृष्णराज दाहाल बताउँछन् । त्यसपछि अन्य चालकले पनि यात्रा सुरक्षित हुने विश्वास राख्दै र दुर्घटनामा ज्यान गुमाउनेका केही आफन्तले दिवंगत आत्मालाई शान्ति मिलोस् भन्दै ऐना चढाउँदै जाँदा सडकभित्ताको ठूलो भाग ऐनाले ओगटिएको छ ।
पहिलेपहिले बटुवाले भन्ज्याङमा देवीदेवतालाई सम्झेर एकएक गर्दै ढुंगा थुपार्दै जाँदा देउराली बनेजस्तै एउटा–दुइटा गर्दागर्दै ऐनैऐनाले भरिएको रिठेभीर सजिलै सम्झिने र आस्थाले पुजिने ठाउँ बनेको छ । ससाना सवारीसाधनमा सवारहरू भने रोकिएर मन्दिरमै पुगी देवीको दर्शन गर्छन् । भेटी चढाउँछन् र पुजारीको हातबाट टीका ग्रहण गरेर मात्र गन्तव्यतर्फ लाग्छन् । चाडबाडका बेला धेरै सवारीसाधन आवतजावत हुने भएकाले दिनको चार–पाँच हजार रुपैयाँसम्म संकलन हुने र अरूबेला पनि चार–पाँच सय रुपैयाँ संकलन हुने त्यहाँ बस्दै आएका पुजारी नीरप्रसाद आचार्य बताउँछन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !